'हिम्मतावली' फिल्मको सुटिङ गरिरहेका बेला विभिन्न आरोप लगाउँदै सुटिङ सेटबाट रेखा थापाले निकालेकी निर्देशक श्याम भट्टराईलाई छवि ओझाले च्याप्ने निर्णय गरेका छन् ।
रेखानै मुख्य भूमिकामा रहेको फिल्म 'लंका'को सिक्वेल बनाउने निर्णय लिंदै निर्माता छबिले निर्देशनको जिम्मा श्याम भट्टराईलाई दिएका छन् । 'लज्जा' फिल्मको रिलिजसँगै तिहारपछि फ्लोरमा जाने तयारीका साथ श्यामसँग 'लंका २' बनाउने बिषयमा छबिको सहमती भएको हो ।
'लंका'मा रेखालाई शिर्ष भूमिका दिएका श्यामले सिक्वेलमा भने उनको सम्भावना नरहेको संकेत दिए । रेखाले छबि र श्यामको चरित्रमा आँच आउनेगरी आफ्नो अभिव्यक्ति दिएका कारणले पनि सिक्वेलमा उनको सम्भावना शून्य नै रहेको बुझ्न सकिन्छ ।
'श्यामसँग पहिले नै एउटा फिल्म गर्ने निर्णय भएको थियो । उसले 'लंका'को सिक्वेल बनाउँ भनेपछि मैले स्विकार गरें', छबिले भने । 'लंका २' मा कस्ले अभिनय गर्ने भन्ने बारे कुनै टुंगो नलागेको निर्माता ओझाले बताए ।
'लंका' जस्तै सिक्वेल पनि नारी केन्द्रित हुने छबिको भनाई छ । 'लज्जा' र 'हवल्दार सुन्तली'को रिलिज तयारीमा रहेका छबिले 'लंका २'लाई ०७२ सालमा रिलिज गर्ने बताएका छन् ।

