भाद्र २३ गते प्रदर्शनमा आउने फिल्म ‘स्टुपिड मन’ सेन्सर पास भएको छ । दिवाकर भट्टराई निर्देशित यो फिल्मले सेन्सर वोर्डबाट युनिभर्सल प्रमाण प्राप्त गर्यो । एउटा ‘शब्द’मा 'म्युट' गर्नु बाहेक ‘स्टुपिड मन’को कुनै पनि दृश्य तथा संवादमाथि कैंची चलाइएको छैन ।
युनिभर्सल प्रमाण पत्र प्राप्त फिल्म ‘स्टुपिड मन’लाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् । सञ्चारकर्मी सामिप्यराज तिमल्सेनाद्धारा लिखित ‘स्टुपिड मन’ मा जीवन लुइँटेल, चाँदनी शर्मा, निरज बराल, रिजु श्रेष्ठ, मार्टिन खान लगायतको अभिनय छ । अभिनेता निरज बराल यसै फिल्मबाट निर्माता बनेका छन् । विवेक शाही समेत निर्माता रहेको यो फिल्ममा पूर्ण प्रेमको कथा छ ।
थाइल्याण्डको सुन्दर दृश्य समावेश ‘स्टुपिड मन’मा समावेश गीतहरुले यतिबेला दर्शक तथा श्रोताको मन जितिरहेको छ । ‘तिम्रो आँखा’मा सहित फिल्मको शिर्ष गीत यतिबेला हिट छन् । गीत रुचाइएकाले पनि फिल्म ‘स्टुपिड मन’ लाई दर्शकको साथ मिल्ने अपेक्षा छ । `स्टुपिड मन` अगस्ट २ तारिखका दिन अमेरिकाको क्यालिफोर्नियामा प्रिमियर हुँदैछ । उक्त प्रिमियरमा सहभागी हुन अभिनेता तथा निर्माता बराल यहि सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
यस्तै फिल्म 'सेफ ल्याण्डिङ'लाई सेन्सर बोर्डले 'पिजी' सर्टिफिकेट प्रदान गएको छ । शुक्रबार फिल्म हेरेपश्चात बोर्डले १६ बर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा फिल्म हेर्न पर्नेगरि 'पिजी' सर्टिफिकेट दिएको हो ।
सन्दीप जोसेफले निर्देशन गरेको फिल्म 'सेफ ल्याण्डिङ'ले लागुपदार्थको कथालाई उठाएको छ । बसन्त भन्डारीले निर्माण गरेको यो फिल्ममा निरज बराल, झरना बज्राचार्य, सुशिलराज पाण्डे, रवि गिरी, विजय देउजा, शिखा शाही लगायतको अभिनय छ ।
फिल्म 'सेफ ल्याण्डिङ'को यहि अगस्ट महिनाको ९, १० र ११ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा प्रिमियर हुँदैछ । उक्त प्रिमियरमा झरना बज्राचार्य, निरज बराल उपस्थित हुनेछन् । यसैगरी अगस्टकै १७ तारिखमा न्यूजिल्याण्डमा पनि फिल्मको प्रिमियर हुँदैछ । नेपालमा भने यो फिल्म मंसिर १९ गते रिलिज हुनेछ ।

