लगातार दुई शुक्रबार नेपाली फिल्मको प्रदर्शन रोकिएको छ । गत शुक्रबार एउटै नेपाली फिल्म प्रदर्शन नआएको हलमा यो शुक्रबार भोजपुरीको नेपाली डव फिल्म ‘ज्वाला’ मात्रै प्रदर्शनमा आएको छ ।
नेपाली फिल्म प्रदर्शनमा नआउनुको प्रमुख कारण रह्यो हिन्दी फिल्मको चेपुवामा पर्ने डर । यो शुक्रबार प्रदर्शनमा आएको सलमान खानको फिल्म ‘किक’सँग कुनै पनि फिल्मले जोरी खेल्न चाहेको देखिएन । बिग ब्यानरका बलिउड सुपर स्टारका फिल्म नेपाली फिल्मको लागि मुख्य चुनौतीको रुपमा उभिदै आएका छन् ।
सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगान, अक्षय कुमार, रणवीर कपुर अभिनिति फिल्म प्रदर्शन हुँदा नेपाली फिल्म बजारमा नेपाली फिल्मको प्रदर्शन ठप्प जस्तै देखिने गरेको छ । सुपरस्टारका फिल्म प्रदर्शनमा आउँदा हलमा नयाँ नेपाली फिल्मको संख्या शून्य हुन्छ । यस्तो शून्यता कहिलेसम्म ?

