चलचित्र कलाकार संघको कार्य समिति सदस्यमा अभिनेत्री गौरी मल्ल तानिएकी छिन् । निर्वाचित सदस्य श्रीराम पुँडासैनी अमेरिका उडेर लगातार तीन वटा बैठकमा उपस्थित नभएपछि बैधानिक रुपमै हटाएर नेपालमै बस्ने गरी अमेरिकाबाट फर्किएकी अभिनेत्री मल्ललाई संघको कार्य समिति सदस्यमा तानिएको अध्यक्ष नवल खड्काले बताए ।
शुक्रबार साउन २ गते संघको कार्यालयमा बसेको कार्य समिति बैठकले खाली पदमा गौरी मल्ललाई नियुक्त गरेको हो । संघको शुक्रबारको कार्य समिति बैठकले सम्पूर्ण कलाकारको लागि आचार संहिता पनि ल्याउने निर्णय गरेको । अध्यक्ष खड्काका अनुसार बैठक बसेको एक महिना भित्र आचार संहिता आइसक्नेछ । कार्य समिति सदस्य तथा वकिल प्रकाश धितालले आचार संहिताको ड्राफ्ट तयार गर्दैछन् । त्यसमा कलाकरले सार्वजनिक कार्यक्रममा पहिरिने पहिरन लगायत अन्य बुँदाहरु समावेश हुनेछन् ।
सामाजिक सन्देशको वाहकको रुपमा लिइने कलाकारलाई पनि आचार संहिता आवश्यक पर्छ र ? भन्ने जिज्ञासामा अध्यक्ष खड्काले भने, ‘कलाकारलाई संस्थागत नैतिक दायित्व मात्रै महसुश गराउन खोजिएको हो । धेरै जना कलाकारले थाहा नपाएर पनि सार्वजनिक कार्यक्रममा विवाद आउने पोशाक तथा गतिविधि गरेको पाइएकाले आचार संहिता ल्याउने निर्णय गरेका हौं ।’
त्यस्तै साउनको अन्तिम सातासम्म ‘चलचित्र विकास बहुउद्धेश्शिय सहकारी संस्था’ पनि कलाकार संघले सञ्चालनमा ल्याउने अध्यक्ष खड्काले जानकारी गराए । सम्पूर्ण कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा रंग पत्रकारको हक र हितका लागि सहकारीले लगानी गर्ने समेत नवलले बताए ।

