लामो अवधी नृत्य निर्देशनको अनुभव सँगालेका गोविन्द राईले फिल्म ‘नागबेली’ निर्देशन गरे । देशका लागि भन्दै गोविन्दले निर्देशन गरेको पहिलो ‘नागबेली’ ले व्यापार मध्यम गर्यो ।
फिल्मप्रति दर्शक अनि समिक्षकको प्रतिक्रिया उत्कृष्ट रहेन । प्रिमियरमा फिल्म हेरेर निस्किएका केही पत्रकारले त निर्देशक राईले अझ बढि मेहनत गर्नुपर्ने प्रतिक्रिया दिए । एक सय बढी फिल्म निर्देशन गरेका निर्देशक राई निर्देशित पहिलो फिल्म ‘नागबेली’ ले समग्रमा मिश्रित प्रतिक्रिया पायो ।
फिल्मको सकारात्मक अन्त्यलाई धेरैले मन पनि पराए । तर ‘नागबेली’ मा सुधार गर्नु पर्ने पक्षलाई धेरैले औंल्याए । बजारमा आएका समग्र प्रतिक्रियालाई मनन गर्दै निर्देशक राईले फिल्मीखबरसँग समक्ष आफ्नो भनाई राखेका छन् । उनले भने, ‘म निर्देशक भएकोमा खुसी नहुने व्यक्तिहरु पनि रहेछन् । मान्छे चिन्ने अवसर पाएँ ।’
व्यक्तिहरुले दिएको प्रतिक्रिया जस्तो आफ्नो फिल्म त्यति झुर नभएको दाबी समेत निर्देशक राईले गरे । उनले भने, ‘अर्को फिल्म दर्शकलाई मन पर्ने बनाउँछु ।’ समिक्षक दीपेन्द्र लामाको लेखन रहेको फिल्म ‘नागबेली’लाई गोविन्द राईको धर्म बहीनि रोमियन लिम्बुले लगानी लगाएकी थिइन् ।
देशका केही हलमा दोश्रो सातामा प्रदर्शनरत फिल्म ‘नागबेली’मा निर शाह, दयाहाङ राई, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरवी जैन, सम्भव श्रेष्ठ, यशराज गरच लगायतको अभिनय छ ।

