राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल लगायत दर्जन बढी कलाकार तथा प्राविधिकलाई नेपाली फिल्म क्षेत्रमा प्रवेश गराउने श्रेय निर्माता छवि ओझालाई जान्छ । भाग्य चम्किने ब्यानरको रुपमा हेरिने छवि ब्यानरमा पछिल्लो पटक म्युजिक भिडियो मोडल शिल्पा पोखरेलको प्रवेशले चर्चासँगै चासो पाएको छ ।
पहिलो फिल्म ‘लज्जा’ मा शिर्ष रोल लिएर ‘ईन्ट्री’ गरेकी शिल्पाले छवि व्यानरकै दोश्रो फिल्म ‘हवल्दार सुन्तली’ मा शिर्ष रोलमै बाजी मारेकी छिन् । छविले ‘इन्ट्री’ गराएका रेखा थापादेखि रजनी केसीसम्मले पहिलो फिल्ममा शिर्ष रोल पाएका थिएनन् । रेखाको पहिलो फिल्म ‘हिरो’मा राजेश हमाल र निरुता सिंह केन्द्रिय भूमिकामा थिए भने रेखा सहायक भूमिकामा थिइन् । रेखाको शिर्ष भूमिका रहेको शोभित बस्नेतको ‘दुर्गा’ फिल्मले बम्परको व्यापार गरेपछि मात्रै छविले रेखालाई केन्द्रिय भूमिकामा राखेर फिल्म निर्माण गर्ने गरेका हुन् ।
रेखा फिल्मस्बाट निर्माण भएका ‘अजम्बरी नाता’देखि ‘हमेशा’ सम्म छविले रेखाकै वरिपरि कथा घुम्ने फिल्म निर्माण गरे । यता ‘लोफर’ मा रजनीको रोल फिक्का थियो । छवि व्यानरमा शिल्पाले चाहिं कसरी लगालग दुई फिल्ममा शिर्ष रोल पाइन् ?
छविले सविस्तार लगाए, 'लज्जाको लागि रेखाजीसँग सम्बन्ध राम्रो हुँदा सँगै बसेर कुरा पनि गरेका थियौं । ‘लज्जा’ बन्ने बेलासम्म हाम्रो सम्बन्ध बिग्रिसकेको थियो । त्यसपछि रेखाजीलाई फिल्मको लागि अफर नै गरिन । लेडिज सेन्टिमेन्टलाई पर्दामा उतार्ने हिरोइन चाहिएको थियो, शिल्पासँग मेरो भेट भयो । अभिनयको प्रशिक्षण अनि निर्देशकले ‘हुन्छ’ भनेपछि मात्रै शिल्पा दुई वटै फिल्मको शिर्ष रोलमा छानिएकी हुन् ।’.jpg)
दर्जनौं म्यूजिजिक भिडियोमा अभिनय गरिसकेकी शिल्पा पोखरेललाई नृत्य निर्देशक शंकर विसीले निर्माता छवि ओझासम्म पुर्याएका थिए । छविको फिल्म ‘लोफर’ बन्दै गर्दा शिल्पा बानेश्वर हाइटको छविको ‘नमस्ते नेपाल’ कार्यालय पुगेकी थिइन् । शिल्पा सम्झिन्छिन्, ‘फिल्मको अफर धेरै नै आइरहेको थियो । जे पायो त्यही फिल्ममा अभिनय नगर्ने भनेर बसेकी थिएँ । छवि ब्यानरको फिल्म भनेपछि आफैं फोन गरेर भेट्न गएँ ।’
उत्साहित भएर छविलाई भेट्न गएकी शिल्पा फिल्म ‘लोफर’ का लागि रिजेक्ट भएर रजनी केसी ‘एस’ भइन् । अर्को फिल्ममा बोलाउँछु भन्दै छविले शिल्पालाई खाली हात फर्काइदिए । ‘उहाँको यस्तो जवाफले मन दुखेको थियो,’ शिल्पाले भनिन्, ‘बन्दै गरेको फिल्ममा नखेलाउनेले पछि अर्को फिल्ममा बोलाउनु हुन्छ भन्ने पत्यारै लागेको थिएन ।’ छवि सम्झन्छन्, ‘लोफरमा हिरोइनको रोल छोटो थियो । त्यसैले शिल्पालाई अर्को फिल्मको लागि पर्ख भनेको थिएँ ।’
नभन्दै नवल नेपालले निर्देशन गर्ने फिल्म ‘लज्जा’को लागि शिल्पालाई छविले सम्झिए । बिना सम्झौता निर्देशक नेपालसँग शिल्पा झन्डै तीन महिना ‘लज्जा’ को स्क्रिप्टमा बसिन् र निर्देशक उज्जवल घिमिरेसँग अभिनयको प्रशिक्षण पनि लिइन् । निर्देशक नेपाल भन्छन्, ‘शिल्पाले ‘लज्जा’मा नव अभिनेत्रीको अवार्ड पाउने अभिनय गरेको छ ।’ पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘लज्जा’ आउँदो तिहारको छेको पारेर प्रदर्शनमा आउँदैछ ।
पहिलो फिल्म प्रदर्शनमा नआउँदै छविले दोश्रो फिल्म ‘हवल्दार सुन्तली’ मा शिल्पालाई शिर्ष रोलमा उभ्याएका छन् । किन लगालग एउटै हिरोईन ? छविले भने, ‘दोश्रो फिल्ममा मेरो भन्दा पनि शिल्पा निर्देशकको रोजाइमा परेकी हुन् ।’
छवि व्यानरमा पहिलो पटक फिल्म निर्देशन गरेका ऋषि लामिछानेको रोजाइमा रेखा थापा थिइन् । फिल्म ‘हवल्दार सुन्तली’ मा कसरी शिल्पा छानिइन् ? निर्देशक लामिछाने भने, ‘व्यस्तता देखाउँदै रेखाले फिल्म नखेल्ने भएपछि मलाई अर्को हिरोइनको आवश्यक थियो । रेखा नभएपछि को लिने त भन्दा अभिनय राम्रो गर्ने नयाँ जस्तो पनि नलाग्ने हिरोइनलाई लिउँ भनेर शिल्पालाई लिएको हो ।’
शिल्पालाई ‘हवल्दार सुन्तली’मा साइन गराउनु पूर्व ऋषिले उनको पहिलो फिल्म ‘लज्जा’ हेरे । उनले भने, ‘लज्जामा शिल्पाले गरेको अभिनय हेरेपछि ‘हवल्दार सुन्तली’ मा शिल्पालाई 'ओके' गरेको हुँ । पहिलो फिल्ममै शिल्पाले राम्रो गरेकी रहिछन् । दोश्रो फिल्ममा उनले सोचे भन्दा राम्रो काम गरेकी छिन् ।’
पहिलो फिल्मको प्रतिक्रिया नआउँदै दोश्रो फिल्ममा शिर्ष रोल निभाउन पाउँदाको अनुभव बारे शिल्पाले भनिन्, ‘त्यस्तो ब्यानरबाट अफर आउँदा को चाहिं त्यतिकै बस्ला र ? अफर आउने वित्तिकै म त हाम फालेर गईहालें ।’ बाहिरी ब्यानरकोले नपत्याएर हो ? भन्ने प्रश्नमा शिल्पाले ढुक्कसँग भनिन्, ‘बाहिरी ब्यानरले नपत्याएको भन्दा पनि मैंले चाहिं अफरलाई 'ओके' नगरेको हुँ ।
‘लज्जा’ रेस्पोन्स आएपछि बाहिरी ब्यानरको फिल्म पनि खेल्छु,’ शिल्पाले थपिन् । ‘लज्जा’ को रेसपोन्स कस्तो आउला ? शिल्पाले दर्शकको हातमा छोडिदिइन् । दर्शकको प्रतिक्रिया बुझ्न आउँदो तिहारसम्म प्रतिक्षा गर्रौं ।

