आयोजकद्धय हरिशरण महत (हरि महतको नामले चिनिने) र राजकुमार पटेलले नेपालका विभिन्न शहरहरुमा १५ दिने साँगीतिक कार्यक्रममा प्रस्तुती गरेवापतको पैसा नदिएपछि श्रमशोषण गरेको भन्दै १४ जना पीडित कलाकारहरुले आयोजकलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।
आफूहरुलाई आयोजकले २०७१ जेठ २० देखि असार ०१ सम्म विभिन्न शहरहरुमा चलेको १५ दिने 'वाइड ईभेन्ट नेपाल टुर' नामक साँगीतिक कार्यक्रममा सहभागी गराएर पारिश्रमिक नदिएको भन्दै पीडितले आयोजकमाथि कानुनी कारवाहीको माग गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा पीडित कलाकारहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुलाई एग्रिमेन्ट अनुसार रकम दिनुको सट्टा उल्टै धम्की दिएको भन्दै ४८ घण्टाभित्र पारिश्रमिक नदिए बाध्य भएर ठगी गर्नेहरुलाई कानुनी बाटो खोज्ने चेतावनी दिए ।
पीडित कलाकार एवम् गायक सुगम पोखरेलले आफूहरु वाईड इभेन्ट नेपाल टुर नामक साँगितिक कार्यक्रममा देशका विभिन्न १५ वटा शहरमा सहभागी भएको बताउँदै एग्रिमेन्ट अनुसार नै थोरै पेस्की रकम लिएर कार्यक्रममा सहभागी भएको र कार्यक्रम सम्पन्न भएपछि बाँकी पैसा दिनुको सट्टा हामीलाई धम्की दिँदै आएको बताए । अर्का पिडित कलाकार रमेश दुलालले आफूहरुलाई ठग्ने आयोजकलाई कुनै पनि हालतमा नछोड्ने बताए ।
पारिश्रमिक नपाएर पीडित बनेका कलाकारहरूमा अभिनेत्री सुष्मा कार्की, गायकहरू सुगम पोखरेल, सम्भोज मल्ल, रुपक डोटेल, युवराज चौलागाई, प्रकाश कटवाल, कमल खत्री, गायिकाहरू आकांक्षा बस्याल, बुनु राई मानन्धर, सम्झना लामिछाने मगर, कार्यक्रम सञ्चालक सुर्जनी केसी, कलाकार रमेश दुलाल, क्यामेराम्यान निकेश महर्जन, सवारीधनी नारायणप्रसाद ढुंगाना लगायत छन् ।

