निर्देशक समाजको बार्षिक साधारण सभामा भाँडभैलो मच्चिएको छ । चावहिलस्थित चलचित्र विकास बोर्डको भवनमा जारी साधारण सभालाई केहि बिपक्षी समूहले बिरोध गरेपछि उक्त कार्यक्रम केहि समयका लागि रोकिएको छ ।
'नाईं नभन्नु ल २'का निर्देशक विकास आचार्यलाई समाजले बर्ष लोकप्रिय निर्देशकको रूपमा सम्मान गरेको छ । सोही सम्मान कार्यक्रम चलिरहँदा भाँडभैलो शुरू भएको हो । २५० भन्दा बढि साधारण सदस्यमध्ये ६४ जनाको मात्र नविकरण भएको र बाँकि सदस्यलाई नविकरण गर्ने समय नदिई बार्षिक साधारण सभा गरेको भन्दै निर्देशक एम. एस. अग्रज, ऋषि लामिछाने, डब्बु क्षत्री, सुवास कोईराला सहितको एक समुहले उक्त कार्यक्रमको बिरोध गरेको हो ।
बिरोधी समुहले सम्पूर्ण साधारण सदस्यहरूलाई नविकरण गर्न नदिएसम्म साधारण सभा गर्न नदिने अडान लिएको छ । यसका लागि अहिले बोर्डमा समाजका बर्तमान अध्यक्ष दिनेश डिसीसहितको कार्यसमिती सदस्यलगायत अन्य व्यक्तिहरूसँग बिरोधी पक्षको बार्ता चलिरहेको छ ।
कार्यक्रममा कार्यसमिती सदस्यबाहेक अन्य नविकरण भएका सदस्यहरूको पनि उपस्थित देखिएको छैन । यसकारण उक्त साधारण सभा कार्यसमितीका सदस्यका लागि मात्र गरिएको जस्तो देखिएको छ ।
स्मरण रहोस्, समाजका अध्यक्ष डिसीमाथि एक वर्षे कार्यकालमा अपारदर्शी क्रियाकलाप गरेको र व्यक्तिगत फाइदाका लागि संस्था प्रयोग गरेको आरोप लगाउँदै केहि महिना अगाडी कार्यसमितीका ६ जना पदाधिकारीहरूले समाजबाट राजिनामा समेत दिएका थिए ।

