Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जीवन मनपर्ने अर्चनाले कसरी खेल्लिन् आर्यनसँग `आवेग` ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/18

आइटम गर्लबाट अर्चना देलालले नायिकामा फड्को मारेकी छिन् । फिल्म ‘ढुवानी’को ‘छलक छलक’ र फिल्म ‘दमदार’ को ‘जिकज्याक जवानी’ बोलको आइटम गीतमा अर्चनाले आकर्षक नृत्य पस्किएकी छिन् । अर्चनाका यी आइटमले राम्रै चर्चा पाए ।

दुई फिल्ममा पस्किएको आइटमबाटै चर्चा पाएकी अर्चना बसन्त निर्रौलाले निर्देशन गर्ने फिल्म ‘आवेग’मा नायिकाको रुपमा अनुबन्धित भएकी छिन् । अर्चनाको अपोजिटमा अभिनेता आर्यन सिग्देल हुनेछन् । आइटम गर्लबाट नायिकामा बढुवा भएकी अर्चनाले आइटम गर्ल भन्ने परिचय माथि नै आपत्ती जनाइन । उनले भनिन्, ‘मैले कहिल्यै पनि आफुलाई आइटम गर्लको रुपमा लिइँन । म आफुलाई जहिल्यै पनि नायिका हुँ भन्ने महसुश गर्छु । आइटममा नाच्नु पनि कला हो ।’

फिल्मको एउटा मात्रै गीतमा नृत्य पस्कने कलाकार कसरी नायिका हुन सक्छ ? अर्चनाले आफ्नो ‘लजिक’ लगाइन्, ‘फिल्म ‘ढुवानी’ मा नायिका नै थिएन । एउटा गीतमा नाच्ने भएपनि निर्माण युनिटले मलाई नै नायिका भनी प्रचारप्रसार गरेको थियो । धेरै फिल्म खेलेर नायिकाले कमाउन नसकेको चर्चा मैले कमाएको छु । त्यसैले म आफुलाई नायिका भन्न रुचाउँछु ।’

‘ढुवानी’ रिलिज भएको लामो समय पछि अर्चनाले फिल्म ‘दमदार’मा आइटम नृत्य पस्कने अवसर पाएकी थिइन् । फिल्ममा आवद्ध हुने अवधी लामो हुन जानुको कारणबारे विराटनगर जन्मथलो भएकी अर्चनाले भनिन्, ‘म नेपालमा कमै बस्छु । पढाइको सिलसिलामा विगत पाँच वर्षदेखि मेरो बसाई अष्ट्रेलियामा छ । नेपाल आएको मौकामा नेपाली फिल्मसँग जोडिन्छु ।’

विदेशी नागरिकसँग ‘ईन रिलेसनसिप’मा रहेकी अर्चना अष्ट्रेलियामा ‘विजनेश म्यानेजमेन्ट’ विषयमा अध्ययनरत छिन् । विदेशको पढाइ छोडेर नेपाली फिल्मतिर किन ? नेपाली फिल्ममा आवद्ध हुनुको क्रेडिट अर्चनाले अष्ट्रेलियामा रहेका आफ्ना साथी सर्कललाई दिइन् । उनले भनिन्, ‘मेरो फोटो हेरेर साथीहरुले जहिल्यै मोडलिङमा लाग्न 'इनकरेज' गर्थे । साथीहरुकै हौसलाले मेरो मन नेपाली फिल्मतिर तानियो ।’

अष्ट्रेलियामै बस्ने एक आफन्तले ‘ढुवानी’ को उक्त आइटम डान्समा अर्चनालाई सिफारिस गरेका थिए । सुटिङमा जाने तयारीमा रहेको ‘आवेग’ मा सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान अर्चनाका कर्मदाता बने । ‘ढुवानी’ खिचेका पुरुषोत्तमले ‘आवेग’ पनि खिच्दैछन् । फिल्म ‘आवेग’मा नायिका भएर अभिनय गर्न पाउँदा अर्चनाको खुसीले धुरी छोएको छैन । किन त ? उनले सुनाइन्, ‘एक दिन यस प्रकारको रोल गर्छु नै भन्ने थियो ।’ कारण यतिमै सिमित छैन । अर्चनाले भनिन्, ‘मेरो पहिलो फिल्म जीवन लुइँटेलसँग होस् भन्ने चाहन्थें तर भएन । आर्यनजीसँग पनि राम्रै हुन्छ भन्ने आश छ ।’

उनले चाँडै नै आफ्नो ‘फेवरेट’ हिरो जीवन लुइँटेलसँग फिल्म खेल्ने तयारी भैरहेको योजना सुनाइन् । नायिका भएर निरन्तरता कहिलेसम्म ? उनको योजना छ, ‘अब फिल्म नै भनेर लागेको छु । सफल नायिका बन्ने लक्ष्य पूरा गर्ने चाहना छ । नेपाली फिल्ममा मेरो यात्रा लामै हुन्छ होला ।’

फिल्म निर्माण गर्ने अर्चनाको तत्काल योजना छैन । तर फिल्म निर्माणको सम्भावनालाई भने अर्चनाले कायमै राखेकी छिन् । विदेशमा रहेका साथीहरुलाई नेपाली फिल्मको बारेमा सकारात्मक सन्देश फैलाउने उनले बताईन् ।

Most Visited News (monthly)