Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.67/5.00)
Text size:-
+
-

`बधशाला` मनले बनाएँ `ताण्डव` दिमागले : मोहन डोटेल

फिल्मीखबर, काठमाण्डौ, 2014/07/17

फिल्म ‘बधशाला’ पछि २६ बर्षिय मोहन डोटेलले फिल्म ‘ताण्डव’ बनाएका छन् । भदौ ६ गते फिल्म ‘ताण्डव’ लाई देशभर प्रदर्शन गर्ने व्यवस्थापनमा व्यस्त निर्माता मोहन डोटेलसँग फिल्मीखबरका उत्सव रसाईलीले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

सशस्त्र द्धन्द्ध कालमा तत्कालिन नेपाली सेनाको जेलमा कैदीले पाउने यातना र उनीहरुको मनोविज्ञान जस्तो संवेदनशील विषयको फिल्म ‘बधशाला’मा लगानी लगाएका यी युवा निर्माताले किन फिल्म ‘ताण्डव’मा लगानी लगाए त ? यही नै पहिलो जिज्ञासा थियो ।

स्म्यासिङ एप्पल नामक फिल्म प्रोडक्सन हाउसका मालिक मोहन डोटेलले फिल्म ‘ताण्डव’को लगानी बारे कारण खुलाए । उनले भने, ‘कुनै पनि प्रोडक्सन हाउसले आफ्ना ब्रान्डिङ विस्तार होस् भन्ने चाहन्छ । ‘बधशाला’ फिल्म मैले राज्यलाई सजग गराउन बनाएको थिएँ । त्यो फिल्मको लक्षित दर्शक निश्चित वर्गका थिए । मैले ‘ताण्डव’ फिल्म म जस्ता युवा दर्शकलाई लक्षित गरेर बनाएको हुँ ।‘बधशाला’ मनदेखि बनाएको थिएँ ‘ताण्डव’ दिमाग लगाएर बनाएको छु ।’

फिल्म ‘ताण्डव’ मा मानविय संवेदना, डर अनि द्धन्द्ध जस्ता दर्शकलाई मन पर्ने मसला प्रशस्त रहेको मोहनले दाबी गरे । नेपाली सेनाले झिकेको विवाद, प्रतिबन्ध अनि फुकुवाको विषयले गर्दा फिल्म ‘बधशाला’ले राम्रो चर्चा पायो । चर्चित फिल्म ‘बधशाला’लाई मनोज पण्डितले निर्देशन गरेका थिए । पहिलो फिल्ममा नेपाली निर्देशकसँग सहकार्य गरेका मोहनले दोश्रो फिल्ममा बेलायती नागरिक मुर्रे केरसँग सहकार्य गरेका छन् ।

यसअघि ‘सिक सिटी’ नामक नेपाली फिल्म नै निर्देशन गरेका बेलायती नागरिक केरसँग मोहनको ‘ताण्डव’ कसरी जोडिन गयो ? मोहन फ्ल्यास ब्याकतर्फ फर्किए, ‘विदेशी निर्देशकलाई किन लिएको भन्ने प्रश्न आउन सक्ला तर कुनै पनि निर्माताको लगानीलाई देशको सिमाले रोक्न सक्दैन । मुर्रेेले राम्रो स्क्रिप्ट लिएर आएपछि म लगानी गर्न तयार भएँ ।’

विदेशीको निर्देशन अनि नेपालीको निर्माण रहेको ‘ताण्डव’ कुन धारको फिल्म हो त ? मोहन प्रश्नको विपरित देखिए । उनले भने, ‘म यहाँ हतियार बेच्न आएको होइन । त्यसैले ‘ताण्डव’लाई म एउटा मात्रै धारमा सिमित राख्न चाहान्न ।’ उनले थपे, ‘ताण्डवले दुवै धारको खाडललाई जोड्ने पुलको काम गरेको छ । मलाई नयाँ र पुरानो धारमा विश्वास छैन ।

युट्यूवमा युवापुस्तामाझ हिट र्यापर आशिष राना ‘लाउरे’लाई ‘ताण्डव’मा अभिनय गराउने योजनामा मोहन सफल भएका छन् । र्यापर ‘लाउरे’लाई ‘ताण्डव’मा अभिनय गराउने सोच कसरी आयो ? मोहनले भने, ‘मेरो हरेक फिल्मबाट फिल्म क्षेत्रले नयाँ प्रतिभा पाओस् भन्ने चाहना हो । ‘ताण्डव’लाई लाउरे जस्तै कलाकार चाहिएको थियो । लाउरेबाट मेरो प्रस्ताव स्विकार भयो । तीन महिना त उसलाई अभिनयको प्रशिक्षण नै गरायौं । उहाँले फिल्ममा राम्रो गर्नुभएको छ । यसमा म सफल भएको मान्छु ।’

विशेषतः थिएटरका कलाकार फिल्मको अभिनयतिर लागेपछि नेपाली फिल्मको स्टारडम भत्किएको आरोप नियमित फिल्म निर्माण गर्ने फिल्मकर्मीको लगाउँदै आएका छन् । के नेपाली फिल्ममा स्टारडम भत्किएकै हो त ? मोहनको बुझाइ छ, ‘हलिउड र बलिउडमा जस्तो नेपाली फिल्ममा त्यस्तो स्टार पावर छैन । तर सबैको स्टार पावर भत्कियो भन्ने पनि होइन । मेरो बुझाइमा प्रोडक्सन हाउस र उसले ल्याउने प्रोडक्ट नै फिल्मको स्टार पावर हो ।’

र्यापर आशिष राना ‘लाउरे’ र नम्रता श्रेष्ठ, अनुप बरालको मुख्य भूमिका रहेको फिल्म ‘ताण्डव’ले दर्शकलाई हलसम्म तान्ने अपेक्षा छ । निर्माता डोटेलले चाहिं फिल्मको व्यापार बारे कस्तो अपेक्षा गरेका छन् त ? भन्छन्, ‘फिल्मको व्यापार राम्रो हुनेमा ढुक्क छु तर उम्लिएको भने छैन । साढे २ घण्टा दर्शकले भरपुर मनोरञ्जन लिनेमा म विश्वस्त छु । बजेट, उपलब्ध श्रोत साधनलाई हामीले राम्रोसँग प्रयोग गरेका छौं ।’

मोहनको पहिलो फिल्म ‘बधशाला’ले समिक्षकबाट राम्रो रेटिङ पाएको थियो । दोश्रो फिल्म ‘ताण्डव’ले समिक्षको कस्तो साथ पाउला ? उनको अपेक्षा छ, ‘ताण्डव ‘मास'लाई लक्षित गरेर निर्माण गरिएको फिल्म हो । यद्पी समिक्षकलाई यो फिल्मले निराश बनाउँछ जस्तो मलाई लाग्दैन । समिक्षक नै मेरा दर्शक हुन् । दुवैलाई सन्तुष्ट पार्ने गरी फिल्म बनाएको छु ।’

Most Visited News (monthly)