आज अभिनेत्री ऋचा शर्माको जन्मदिन हो । फिल्मीखबर परिवार ऋचालाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ । अमेरिकादेखि अनलाइनबाट दिदीले पठाएको केक काट्ने तयारी गरिरहेकी ऋचाले जन्मदिनको कुनै विशेष कार्यक्रम भने नरहेको बताइन् ।
म्यूजिक भिडियो, मिस नेपाल प्रतिस्पर्धा, मोडलिङ हुँदै चार वर्ष अघि फिल्म ‘फस्ट लभ’बाट ऋचाले फिल्म अभिनयको यात्रा प्रारम्भ गरेकी थिइन् । चार वर्षको बिचमा ऋचाले आठ वटा फिल्ममा अभिनय गरेकी छिन् । ‘फस्ट लभ’ सहित ‘लुट’, 'मेरो लभ स्टोरी', ‘हाइवे’, ‘भिसा गर्ल’, ‘उमा’ र प्रदर्शनको क्रममा रहेको ‘टलक जंग भर्सेस टुल्के’ र ‘जंगे’ ऋचा अभिनित फिल्महरु हुन् ।
प्रदर्शनमा आएको फिल्महरुबाट ऋचाले विभिन्न शिर्षकको अवार्ड समेत पाएकी छिन् । फिल्म ‘फस्ट लभ’मा एचआइभी संक्रमित कलेज गर्लको भूमिका निभाएकी ऋचाले फिल्म ‘उमा’ मा छापामारको भूमिका निभाइन् । ‘टलक जंग भर्सेस टुल्के’ र 'जंगे' फिल्ममा ऋचालाई क्रमशः नेगेटिभ र थारु युवतीको भूमिकामा देख्न सकिनेछ ।
पात्रलाई न्याय गर्ने कलाकारमा ऋचा पनि पर्छिन् । हरेक फिल्ममा आफ्नो भूमिकालाई विविधता दिने ऋचालाई कस्तो भूमिका निभाउने ईच्छा त ? वर्थडे गर्ल ऋचाले भनिन्, ‘प्रियंका चोपडाले ‘सात खुन माफ’मा निभाएको जस्तो भूमिका निभाउन मन छ । मलाई चुनौतीपूर्ण रोल गर्न मन पर्छ । यस्तै चुनौतीपूर्ण भूमिकाको प्रतिक्षामा छु ।’
तर, यस प्रकारको भूमिका ऋचालाई कसले प्रस्ताव गर्ने ? उनले भनिन्, ‘म अभिनयमा लगाव राख्ने व्यक्ति हुँ । त्यसैले म धैर्य गर्न सक्छु ।’

