‘चपली हाइट’ गर्ल विनिता बराल कृषि पेशामा आवद्ध भएको एक वर्ष भयो । गत साल यो समयमा जग्गाको चाँजोपाँजो मिलाउँदै गरेकी विनिता यतिबेला भने तरकारी बेच्नमा व्यस्त छिन् । कृषि पेशामा आवद्ध हुँदा विनिता खुसी छिन् ।
कृषिप्रतिको मोहकै कारण बङ्गुर पालन गर्दै आएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कृषक अभिनेत्री विनिता बराललाई नेपाल सरकारले कृषि सद्भावना दूत भनेर भर्खरै घोषणा गरेको छ । नेपाल कृषि पत्रकार प्रतिष्ठानको पहलमा यी दुई सेलिव्रेटीलाई कृषि मन्त्रालयले कृषि सद्भावना दूतको रुपमा घोषणा गरेको हो ।
सिताराम र विनिताले देशमा सरकारले सञ्चालन गर्ने कृषि सम्बन्धी कार्यक्रममा बोल्नेछन् । आफ्नो यस प्रकारको अभियानले देशका युवा कृषिमा आवद्ध हुने विनिताको विश्वास छ । अन्य व्यक्तिहरुसँग मिलेर काठमाण्डौ नजिकैको टोखा गाविसमा १० रोपनी जग्गा भाडामा लिएर विनिताले एक वर्ष अगाडी तरकारी खेती सुरु गरेकी थिइन् ।
अहिले विनिताको खेतमा गोलभेंडाको सिजन छ । तर, गोलभेंडाले नपाइरहेको उचित बजारले विनितालाई चिन्तित बनाएको रहेछ । उनले भनिन्, ‘नेपाली गोलभेंडाले उचित मूल्य नपाउँदा हामी मारमा परेका छौं । सम्पूर्ण ग्राहक महानुभावलाई नेपाली उत्पादन प्रयोग गर्न आव्ह्वान गर्दछु ।’ लगानी अनुसारको बजार भाउ नपाएको भन्दै केही दिन अगाडी कृषकहरुले कालिमाटी बजार अगाडीको सडकमा गोलभेडा फ्याँकेर बिरोध गरेका थिए ।
फिल्म ‘सुपरहिट’ रिलिजको पर्खाइमा रहेकी विनिताको अनुरोध छ, ‘नेपाली किसानले उत्पादन गरेको तरकारी खाऊँ । युवापुस्तालाई हौसला बढाऊँ ।’ सामाखुसीमा तरकारी पसल समेत सञ्चालन गर्दै आएकी विनिताको यो आव्ह्वानले के गोलभेंडाले उचित बजार पाउला ?

