अभिनेत्री सुष्मा कार्कीको प्रेमी निरन शाहीसँग दोश्रो पटक ‘व्रेकअप’ भएको छ । सुष्मा र निरन दुवैले ‘प्याचअप’ को सम्भावना नरहेको फिल्मीखबरसँको विशेष कुराकानीमा बताए । चार वर्ष अगाडी प्रेम सम्बन्ध जोड्दै व्रेकअप र प्याचअपको बाटोमा हिंडेका सुष्मा र निरनबिच एक महिना अगाडी व्रेकअप भएको हो ।
मंगलबार पुतलीसडकको एक रेष्टुरेन्टमा कुटाकुट भएको खबर बाहिरिएपछि सुष्मा र निरनले एक महिना अगाडी नै प्रेम सम्बन्ध टुटिसकेको रहस्य सार्वजनिक गरेका हुन् । ‘मैले नै व्रेकअप दिएको हुँ,’ सुष्माले सुनाईन्, ‘रेष्टुरेन्टमा मेरो ईन्ट्री हुने वित्तिकै मलाई तथानाम गाली गर्न थाल्यो । मैले सहन सकिन, मुख छाडिदिएँ । यहि कारणले विवाद भयो ।’
मंगलबार भएको घटनालाई लिएर निरनको पनि आफ्नै जिद्दि पेश गरे । विवाद बारे उनले भने, ‘मसँग उसले विवाद गर्न खोज्यो । मलाई पिटाउन सुष्माले केटाहरु बोलायो ।’ सुष्मालाई आफुले हात नहालेको निरनको दाबी छ । सुष्माले घटनाबारे धेरै बोल्न चाहिनन् । निर्माता हरी महतले देशैभरी आयोजना गरेको ‘वाइड इभेन्ट’ मा सुष्मा र निरनसँगै हिंडेका थिए । त्यही कार्यक्रमको पारिश्रमिक लिन सुष्मा र निरन मंगलबारसँगै भेटिएका थिए ।
सुष्माले कार्यक्रमको अवधीमा पनि आफ्नो निरनसँग अफयेर नभएको खुलाइन् । उनले भनिन्, ‘कार्यक्रमको लागि मात्रै सँगै हिंडेको थिएँ । हाम्रो व्रेकअप पहिल्यै भैसकेको थियो ।’ करिब चार वर्ष अगाडी ठमेलको एक रेष्टुरेन्टमा गीत गाउँदै गर्दा अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरन माथि ‘उध्रेको चोली’ आइटम गर्ल सुष्माको नजर परेको थियो ।
ठमेलको रेष्टुरेन्टबाट सुरु भएको सुष्मा र निरनको सम्बन्ध ‘लिभिङ टुगेदर’ सम्म पुग्यो । सुष्माले भक्कानिदै भनिन्, ‘मैले उसको लागि खाना बनाउनेदेखि मोजा धोइदिनेसम्म काम गरें । उसले मेरो लागि के गर्यो ?’ सँगै बस्न थालेको २ महिनापछि निरनले आफुलाई शारीरिक यातना दिन थालेको सुष्माले सुनाइन् ।
सुष्माले भनिन्, ‘उसले उठ् भने उठ्ने बस् भने बस्ने । म त कठपुतली नै भएको थिएँ । सहनै नसकेर अहिले आएर व्रेकअप दिएको हुँ ।’ यता निरन भने ब्रेकअपको दोष दुवै जनालाई दिन्छन् । असमझदारीका कारण सम्बन्ध दिगो हुन नसकेको निरनले स्विकार गरे । निरनले भने, ‘व्रेकअपको दोष म आफैंलाई पनि दिन्छु । हामी दुई जनाले एक अर्कालाई बुझ्न सकेनौं । अब हाम्रो सम्बन्ध जोडिदैंन ।’
विवादित र तनाव रहित जीवनबाट मुक्ति लिन आफू चाँडै नै नेपाल बाहिर जाने निरनले सुनाए । यता सुष्माको आरोप छ, ‘पैसाको लागि निरनले ठाउँ ठाउँमा पत्नी बनाउँदै हिंड्यो । पैसावाल केटीसँग सम्बन्ध राख्नु उसको लागि सामान्य कुरो हो ।’ सुष्माको यो आरोप बारे निरन मौन रहे । सुष्माको रोष छ, ‘पैसाको लागि केटा मान्छे कतिसम्म गिर्दो रहेछ भन्ने कुरा निरनसँगको सम्बन्धबाट थाहा पाएँ ।
सुस्माले थपिन्, ‘पाइला पाइलामा मैले उसलाई पैसा दिएको हुन्थें । ऊ चाहिं पाइला पाइलामा सम्बन्ध जोड्दै हुन्थ्यो ।’ पैसाको पछि लाग्नेसँग सम्बन्ध कायम राखेर जिन्दगी अगाडी नबढ्ने निष्कर्ष निकालेर सम्बन्धलाई टुङ्ग्याएको सुष्माको भनाई छ । ‘अब फिल्ममा सक्रिय भएर लाग्छु’ सुष्माको योजना छ ।
प्रेम के रहेछ त ? सुष्माले आफ्नो दुःखद अनुभव सुनाइन्, ‘प्रेम यस्तै रहेछ, कुटाइ खानु पर्ने । रूंदै हिड्नु पर्ने ।’ सुष्मालाई प्रेमले पिडा मात्रै दिएको छैन गतिलो पाठ पनि पढाएको छ । सुष्माले प्रेमबाट सिकेको पाठ हो, ‘प्रेममा डुब्ने हैन तैरिन सक्नु पर्छ ।'

