विनय भट्ट, नेपाली फिल्म क्षेत्रको लागि नयाँ नाम । तर, यो नाम विद्यार्थी राजनीतिमा पुरानो परिचय बनिसकेको छ । नेबिसंघबाट स्ववियु सभापतीको पद सम्हालेर वि.सं. २०५६ सालदेखि त्रिचन्द्र क्याम्पसमा राजनीति गर्दै आएका विनय भट्टले फिल्म ‘सम्बोधन’मा अभिनय गरेका छन् ।

क्याम्पसका नेता भट्टले ‘सम्बोधन’ मा आफ्नो भूमिका हिरोको सरह भएको बताए । त्रिचन्द्रकै परिवेशमा रहेका भट्टले भने, ‘नम्रता र दयाहाङ जत्तिकै ‘सम्बोधन’मा मेरो भूमिका छ । फिल्मको मुख्य हिरो म नै हुँ ।’ एउटा कलाकारले राजनीति गर्न सक्छ ।
हलिउड, बलिउड हुँदै नेपालमा पनि कलाकार राजनीतितर्फ मोडिने ‘ट्रेन्ड’ बाक्लिदैं गएको छ । एउटा राजनीतिक नेता कसरी कलाकार बन्न सक्छ ? अझ भनौं, नेता कसरी हिरो बन्न सक्छ ? चितवनको स्कूले जीवनदेखि नै राजनीतिमा चासो दिदैं आएका विनयले यी जिज्ञासाको जवाफ सहज रुपमा दिए ।
‘फिल्म खेल्नु मेरो सौख थियोे, समय मिल्यो फिल्म खेलें,’ उनले भने, ‘म अहिले सिमित वर्गमा छु, फिल्मले मेरो परिचयलाई झन् फराकिलो बनाउँछ ।’ फिल्म खेलेपछि आफ्नो राजनीतिक करिअरलाई समेत फाइदा पुग्ने विनयको विश्वास छ । ‘सम्बोधन’को प्रचार प्रसारमा जुट्ने मनस्थिति बनाइरहेका विनयले सुनाए, ‘फिल्म खेल्न पहिलादेखि नै कुरा भैरहेको थियो । तर, पहिले कुरा भएको फिल्मलाई ‘सम्बोधन’ले पछि पार्यो ।’
नेविसंघका पूर्व केन्द्रिय सदस्य सरोज न्यौपानेले गर्दा पनि ‘सम्बोधन’मा आवद्ध हुन सहज भएको विनयको अनुभव छ । ‘सिनियर दाइले भनेपछि नगर्ने कुरै भएन,’ विनय भन्छन्, ‘पहिलो खेल्ने भनेको फिल्म चाहिं अलि अर्कै खालको थियो । ‘सम्बोधन’चाहिं कर्मसियल फिल्म हो ।’
हेमराज विसीको निर्देशन रहेको फिल्म ‘सम्बोधन’ ले भष्ट्रचार विरुद्ध बोल्नेछ । क्याम्पसका विद्यार्थीलाई राजनीतिक चेतना, राज्य प्रणाली र सुशासनको विषयमा भाषण दिने वियनले के फिल्ममा पनि आफ्नो वास्तविक चरित्रलाई देखाएका छन् ? उनले वौद्धिक उत्तर दिए, ‘फिल्मले पनि समाज परिवर्तकै विषयलाई उठाएको छ । त्यसमा मेरो भूमिका महत्वपूर्ण छ ।’
भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउन लागेको ‘सम्बोधन’ फ्लोरमा जानु पूर्व विनयले अभिनय सम्बन्धी केही दिनको प्रशिक्षण लिएका थिए । निर्देशक हेमराज विसीले अभिनय सिक्न धेरै सहयोग गरेको उनले बताए । उनले भने, ‘साना-साना कुरामा पनि ध्यान दिनुपर्ने, फिल्म खिच्न धेरै नै मिहेनत गर्नुपर्ने रहेछ ।’ समय लामो लाग्ने भएपनि फिल्म सुटिङमा रमाइलो हुने उनको अनुभव छ ।
राजनीतितक क्षेत्रबाट फिल्म अभिनयको अनुभव लिएका विनयले के अब यही क्षेत्रमा निरन्तरता दिन्छन् ? विनयले ‘सम्बोधन’को प्रदर्शन अनि यो फिल्मले पाउने प्रतिक्रिया पछि मात्रै फिल्ममा आफ्नो निरन्तरताको विषयमा बोल्ने बताए । उनले भने, ‘अन्य फिल्म खेल्ने नखेल्ने बारे ‘सम्बोधन’ रिलिज पछि निर्णय लिन्छु । तर, राजनीतिक जीवनलाई भने निरञ्तरता दिन्छु ।’

