यतिबेला फिल्मको व्यापारमा सुख्खापन छन् । झन्डै एक महिनासम्म चलेको विश्वकप फुटबल प्रतियोगिताले पनि फिल्मको व्यापार राम्रो नहुमा मलजल पुग्यो भन्ने खालको टिप्पणी फिल्म नभएको होइन । जर्मनीको विजयीसँगै ब्राजिलमा जारी विश्वकप फुटबल सकिएको छ । अब के फिल्मको व्यापारमा सुधार आउला ?
विश्वकप समापनको मुखमा सोलो रिलिज भएको फिल्म ‘नागबेली’को व्यापार उत्कृष्ट हुन सकिरहेको छैन । अब प्रदर्शनमा आउने फिल्महरुको व्यापार कस्तो रहला ? यतिबेला फिल्मीबजारमा चर्चा अनि प्रतिक्षाको विषय बनेको छ । साउनको पहिलो शुक्रबार २ गते भोजपुरी फिल्म ‘ज्वाला’ प्रदर्शनमा आउने चर्चा छ । नेपाली कलाकारको समेत अभिनय रहेको यो फिल्मले सुख्खा लागेको फिल्मको व्यापारलाई मलिलो बनाउने सम्भावना न्यून नै देखिन्छ ।
साउनको दोश्रो शुक्रबार ९ गते पनि फिल्म प्रदर्शनको लागि मैदान खुला छ । यो मितिमा कुनै पनि निर्माताले फिल्म प्रदर्शनको लगन जुराएका छैनन् । साउन १६ गते फिल्म ‘पुन्टे परेड’ प्रदर्शनको तयारीमा छन् । प्लस टु पढ्ने विद्यार्थीको मनोविज्ञानलाई मुख्य विषय बनाइएको यो फिल्ममा संयम पुरी शिर्ष भूमिकामा छन् । प्रियंका कार्की अतिथी भूमिकामा रहेको फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । यही मितिमा अर्को फिल्म ‘मेरो भ्यालेन्टाइन’ प्रदर्शनमा आउँदैछ ।
साउन २३ गते भने हलमा दर्शकको भिड लाग्ने धेरैको अपेक्षा छ । भर्खरै विवाहित जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित फिल्म ‘कोहिनूर’ यही मितिबाट प्रदर्शनमा आउँदैछ । व्यवसायिक सफल फिल्म ‘कहाँ भेटिएला’ जोडीको यो फिल्मले भारतमा बेचिएका नेपाली चेली अनि उद्धारको कथा भन्छ । फिल्म ‘कोहिनूर’लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।
साउन २३ मै जीवन लुइँटेल, उमा बेवी, रागिनी खड्गी लगायतको अभिनय रहेको फिल्म ‘शीशा’ पनि प्रदर्शनमा आउँदैछ । यो फिल्मले प्रेमकथा सहित मोडलिङको बिषयलाई उठाएको छ । ‘कोहिनूर’ र ‘शीशा’ फिल्महरु बिच कस्तो व्यावसायिक प्रतिस्पर्धा होला ? प्रतिक्षा गर्रौं ।
भदौ महिनामा भने फिल्महरुको भेल नै लाग्दैछ । यो महिनाको प्रत्येक साता कम्तिमा दुई वटा फिल्महरु प्रदर्शनमा आउँनछन् । ‘ताण्डव’, ‘सम्बोधन’, ‘ठूली’, ‘यो कथा हो तिम्रो मेरो’, ‘स्टुपिड मन’, ‘बिर्खेलाई चिन्छस्’, ‘निशानी’, 'उत्सव', 'नाईके' लगायतका फिल्महरु भदौ महिनामा प्रदर्शनमा आउँदैछन् । यी फिल्मको व्यापारलाई लिएर फिल्म बजारमा चर्चा अनि विभिन्न खाले अड्कलबाजी चलिरहेका छन् ।

