भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउने हेमराज विसी निर्देशित दोश्रो फिल्म ‘सम्बोधन’ सुरुमै सम्बोधन थिएन । हेमराजले ‘जिन्दाबाद’बाट ‘सम्बोधन’ नामाकरण गरेका हुन् । आखिर किन गरियो पोष्ट प्रोडक्सनमा आएर फिल्मको नाम परिवर्तन ?
हेमराजको प्रष्ट्याई छ, ‘फिल्मले दिने सन्देश अनि नाम मिल्न गएन । फिल्म हेरेपछि दर्शकले नामसँग कथा मेल खाएन भनेर असन्तुष्टि राख्लान् भनेर अहिल्यै नाम परिवर्तन गरेका हौं ।’ उसो भए के हो त फिल्मको कथा ? ‘जिन्दाबाद’ बाट ‘सम्बोधन’ बनेको फिल्मको कथा राजनीतिक विषयवस्तुसँग कुनै सम्बन्ध नभएको दाबी गर्दै हेमराजले भने, ‘यो भ्रष्ट्रचार विरुद्धको फिल्म हो ।’ नेपालको भ्रष्ट्रचारलाई न्युनिकरण गर्न फिल्मले सहयोग पुग्ने निर्देशक विसीको विश्वास छ ।
सरोज न्यौपाने निर्मित फिल्म ‘सम्बोधन’ मा नम्रता श्रेष्ठ पत्रकारको भूमिकामा प्रस्तुत भएकी छिन् । दयाहाङ राई ईन्स्पेक्टरको भूमिकामा छन् । नम्रता र दयाहाङसँगै यो फिल्ममा प्रशान्त ताम्रकार, विनय भट्ट, सुलेमान शंकर लगायतको भूमिका छ । क्यामेरा रामेश्वर कार्कीले ह्यान्डिल गरेका छन् ।
व्यवसायिक सफल फिल्म ‘होस्टेल’ का निर्देशक हेमराज विसी दोश्रो फिल्म ‘सम्बोधन’ लिएर आउँदैछन् । 'होस्टेल' फिल्मबाट ओफा अवार्डको पपुलर निर्देशकको ट्रफी समेत उचाल्न सफल निर्देशक विसीको दोश्रो फिल्म ‘सम्बोधन’ यतिबेला प्रतिक्षित बनेको छ ।

