Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

गुरू पूर्णिमामा सुनिललाई कस्ले के दिए ?

फिल्मीखबर, काठमाण्डौ, 2014/07/12

आज (असार २८ गते) गुरु पूर्णिमा । अनामनगरस्थित मण्डला नाटक घरको प्राङगनमा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल आफ्ना चेलाहरुबाट घेरिएका थिए । चेलाहरुलाई टिका लगाइदिन र उपहार थाप्न सुनिललाई भ्याइनभ्याइ नै थियो ।

 

हातमा रातो टिकाको थाली लिएर बसेका सुनिल आफैलाई सोध्दै थिए, ‘दिनभरी कतिलाई टिका लगाइदिन पर्ने हो ?’ उपहार पनि त टन्नै होला नि ? प्रश्न गरियो, ‘उपहार त त्यस्तै हो, केटाकेटीले मिठाई चाहिं टन्नै ल्यादिन्छन् ।’ उनले सम्झिए, ‘अँ एउटा केटोले पाउलो कोयलोको लेटेस्ट बुक ल्याइदिएको छ ।’ उनले पातलो लामो कपाल मुसार्दै भने, ‘कोही कोहीले त तेल अनि मूर्ति पनि ल्याइ दिएका छन् ।’

 

निधारमा रातो टिका लगाएकी चेली कलाकार अरुणा कार्कीले गुरु पोखरेललाई इङ्गित गर्दै भनिन्, ‘मैले नाट्यश्वेरीको मूर्ति ल्याएको चाहिं बिसर्नु भयो ।’ सुनिल फिस्स हाँसे मात्रै । गुरुकुल नाटकघरको स्थापना भएको ०५९ सालदेखि नै हरेक वर्षको गुरु पूर्णिमामा यसरी नै आफ्ना चेलालाई टिका लगाइ उपहार तथा मिठाई थापेको अनुभव सुनिलसँग छ ।

 

के हो त गुरु पूर्णिमा ? देशभर गरी दुई सय बढी चेलाका धनी पोखरेलले परिभाषा दिए, ‘यो एकदिन चाहिं गुरुप्रति आभार व्यक्त गर्ने दिन हो । गुरुलाई धन्यवाद दिने दिन हो ।’ एकदिन मात्रै ? प्रतिप्रश्न गरियो, ‘यो एकदिन त गर्नै पर्ने दिन हो । बाँकी अरु दिन पनि गुरुलाई सम्मान त गर्नै पर्यो नि !’

 

तपाईंको गुरु चाहिं ? ‘हरिहर शर्मा’, उनले आफ्नो गुरुको नाम लिए । मण्डला नाटक घरमा आउनु पहिल्यै उनले गुरु शर्मालाई भेटेर आइसकेका रहेछन् । हरिहर शर्माले नै सुनिल पोखरेललाई अभिनयको प्रशिक्षण दिएका थिए ।

 

चालिस बढी नाटकको निर्देशन एवं सोही संख्याको नाटकमा अभिनय गरेका सुनिलले केही नेपाली फिचर फिल्ममा समेत आफ्नो जोडदार अभिनय कला प्रस्तुत गरेका छन् । उनको मुख्य भूमिका रहेको 'वनफूल' फिल्म रिलिजको तयारीमा छ ।

 

वर्तमान नेपाली फिल्ममा व्यस्त अभिनेता सौगात मल्ल सुनिल पोखरेलकै चेला हुन् । सुनिल भन्दै थिए, ‘फिल्मको सुटिङ नभएको भए सौगात मण्डलामै आउँछ होला ।’ कर्म, सुवास थापा, सरिता गिरी, समुना केसी लगायत अन्य कलाकारहरु सुनिल पोखरेलका चेलाहरु हुन् । जसले नेपाली फिल्ममा आफ्नै किसिमको छाप छोड्न सफल भएका छन् ।

Most Visited News (monthly)