अभिनेत्री प्रियंका कार्की र बाल अभिनेता अनुभव रेग्मीको दोस्तीको चर्चा नयाँ होइन । यी दुईको दोस्ती कुनै प्रेम जोडीको भन्दा कम छैन । भर्खरै सात वर्षमा टेकेका अनुभव प्रियंकालाई आफ्नो प्रेमिका ठान्छन् । प्रियंका पनि अनुभवलाई खुवै माया गर्छिन् ।

फिल्म ‘आवरण’मा पहिलो पटक सँगै काम गरेका प्रियंका र अनुभवलाई फिल्म ‘नाईं नभन्नू ल २’ले भने निकटताको दुरी घटायो । विकास आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल २’ मा प्रियंकाले अनुभवको आमाको भूमिका निभाएकी छिन् । बुवाको भूमिकामा भने अभिनेता सुरज सिंह ठकुरी छन् ।
प्रियंकालाई औधी माया गर्ने अनुभव सुरजलाई भने मन नपराउने स्वयम् सुरजले चुहाएका छन् । फिल्म ‘नाईं नभन्नू ल २’को सक्सेस पार्टीमा अभिनेता सुरजले भने, ‘अनुभवले मलाई त्यति मन पराउँदैन । उ मसँग झगडा मात्र गर्छ । म त उस्को सत्रु जस्तै भएको छु।’
प्रियंकाको काखमा लुटुपुटु गर्ने अनुभव सुरजसँग किन रिसाए ? फिल्ममा सुटिङका बेला सुरजले प्रियंकालाई मेरो श्रीमती भनेर जिस्काएकै कारण अनुभव अहिले पनि सुरजसँग रिसाउने गरेका हुन् । सुटिङ युनिटका अनुसार प्रियंका र सुरजले फिल्मको टेक दिंदा समेत अनुभव रिस गर्ने गर्दथे । सुरज प्रियंकाको नजिक आएको अनुभवलाई मन पराउँदैनथे ।

