'नोटबुक' फिल्म निर्देशक योगेश घिमिरे आफ्नै निर्माण कम्पनी मार्फत अर्को फिल्म निर्देशनमा उत्रिएका छन् । अरूष इन्टरनेश्नलको व्यानरमा योगेशले निर्देशन गर्ने फिल्मको नाम 'भुल भुलैया' जुराईेको छ ।
'नाईं नभन्नु ल २'का निर्माता दिनेश कुमार पोखरेलको प्रस्तुतीमा निरज ढकाल, सुशिल कार्की, सुरेश गौतम र मणिराज दाहालको समेत लगानी रहने यो फिल्म पूर्ण प्रेमकथामा आधारित रहने निर्देशक घिमिरेले बताए । घिमिरेले 'नोटबुक' फिल्मका जोडी जीवन लुईटेल र नीता ढुंगानालाई 'भुल भुलैया'मा मुख्य भूमिकामा प्रस्तुत गर्दैछन् । यसैगरी फिल्ममा सोहित मानन्धरको पनि मुख्य भूमिका रहनेछ ।
बसन्त सापकोटाको संगीत रहने यो फिल्मको कथा शिबम् अधिकारीले लेखेका हुन् । साउन १६ गतेबाट छायांकन शुरू हुने यस फिल्ममा बनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, राजेन्द्र थापा र स्वप्निल बरालको गीत रहने छ । फिल्मका गीतमा प्रल्हाद तिमल्सिना, दुर्गा परियार र निर्जला पराजुलीले स्वर दिएका छन् ।
फिल्मको प्रेसमिटमा अडियो गीत सार्वजनिक गरियो । उक्त अडियोको तालमा अभिनेत्री नीता ढुंगाना र अभिनेता सोहित मानन्धरले कम्मर मर्काएका थिए । अभिनेता जीवन लुईटेल भने अर्को फिल्मको सुटिङमा भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।




