फिल्म ‘ताण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको यो फिल्मको ट्रेलरले फिल्म ‘छड्के’ र फिल्म ‘मुखौटा’ को झल्को दिन्छ । तराई भेगमा हुने हतियारको प्रयोग र त्यसले निम्त्याउने जोखिमलाई ‘ताण्डव’ मा देखाइएको छ ।

स्याम्यासिङ एप्पलको प्रस्तुती रहेको ‘ताण्डव’मा अभिनेत्री नम्रता श्रेष्ठ र र्यापर आशिष राना 'लाउरे'को मुख्य भूमिका छ । पहिलो पटक फिल्ममा अभिनय गरेका लाउरेले फिल्म सुटिङ रमाइलोसँग भएको सुनाए । दुई फिल्म एकै पटक रिलिजको चटारोमा रहेकी नम्रताले भने ‘ताण्डव’ र ‘सम्बोधन’लाई आधा आधा प्रचार प्रसारमा समय दिने बताइन् । भदौ ६ गते नम्रता अभिनित ‘ताण्डव’ र ‘सम्बोधन’ एक साथ प्रदर्शनमा आउँदैछन् ।

यसअघि फिल्म ‘बधशाला’ निर्माण गरेका मोहन डोटेलले ‘ताण्डव’ भदौ ६ मा नेपाल सहित हङकङ, जापान र युकेमा एकसाथ प्रदर्शन गर्ने योजना जानकारी दिए । उनले दर्शकले दिने जस्तो सुकै प्रतिक्रिया आफुले लिने बताए । यसअघि नेपाली विषयको ‘सिक सिटी’ निर्देशन गरेका बेलायती निर्देशक मुर्रे केरले फिल्म ‘ताण्डव’ ले दर्शकलाई मनोरञ्जन दिने विश्वास व्यक्त गरे ।

फिल्म ‘ताण्डव’ मा नम्रता र लाउरेसँगै अनुप बराल, एलिन गुरुङ, विपिन कार्की, प्रमोद अग्रहरी लगायतको अभिनय छ । फिल्मको द्धन्द्ध निर्देशन अष्ट महर्जनले गरेका छन् । नम्रता र लाउरेको ‘ताण्डव’ ले मच्चाउला त ‘ताण्डव’ ? फिल्मी बजारमा यस्तै चर्चा छ ।

