बर्ष ०७० सालको अन्त्यमा रिलिज भएको फिल्म 'नाईं नभन्नु ल २'ले ५१ औं दिन मनाएको सफलताको खुसी साटेको छ । बिहीबार राजधानीमा एक समारोहका विच निर्माण कम्पनीले निर्माण युनिट तथा सञ्चारकर्मीमाझ फिल्मले पाएको सफलताको खुसी साट्यो ।


देशका केहि हलमा ५१ औं दिन मनाउन सफल यो फिल्मका निर्माता दिनेश पोखरेलले सबैको साथ र सहयोगले सफलता पाएको भन्दै प्राबिधिकदेखि कलाकारलाई मायाको चिनोले सम्मान गरे । यहि खुसीयालीमा निर्माता पोखरेलले 'नाईं नभन्नु ल ३' निर्माण गर्ने औपचारिक घोषणा गरे ।
पिताको निधनको बार्षिकी बारिरहेका निर्देशक विकास आचार्यले एक बर्ष फिल्म निर्देशन नगर्ने भन्दै 'नाईं नभन्नु ल ३' निर्देशनको जिम्मा आफ्नै सहायक निर्देशक मुस्कान ढकाललाई दिएका छन् । मुस्कानले 'नाईं नभन्नु ल २'मा सहायक निर्देशकको जिम्मा सम्हालेका थिए । यो फिल्ममा निर्देशक आचार्य निर्माताको रूपमा अगाडी आउने छन् ।


नाईं नभन्नु ल ३'मा अनुभव रेग्मी र सुरज सिंह ठकुरी दोहिरिने तय भएको छ भने अन्य कलाकारको बारेमा निर्माण युनिटले औपचारिक जानकारी गराएको छैन । यसैगरी संगीतकार बसन्त सापकोटाले नै 'नाईं नभन्नु ल ३' मा संगीत दिने छन् । फिल्मको सुटिङ दशैंको छेकोमा गरिने बताईएको छ ।
यता 'नाईं नभन्नु ल २'बाट सफलता पाएका अभिनेता सुरज सिंह ठकुरी र अभिनेत्री प्रियंका कार्कीले राम्रो कथाबस्तुमा काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे । दुबैले निर्देशक विकास आचार्यसहित निर्माण युनिटलाई धन्यवाद दिंदै फिल्म सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरे । गीतकार डा.कृष्णहरी बराल र संगीतकार बसन्त सापकोटाले पनि गीत हिट हुँदा फिल्म सफल हुने उदाहरण 'नाईं नभन्नु ल २'ले देखाएको बताए । नाईं नभन्नु ल ३'मा पनि काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।



