Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

स्टुडियोमा चिच्याउँदै केकी

फिल्मीखबर, काठमाण्डौ, 2014/07/09
रातभर फुटबलमा गोल भन्दै चिच्याएकी केकी अधिकारी बुधबार दिनभर स्टुडियो साउण्ड डिजाईनमा चिच्याएकै अवस्थामा भेटिईन् । पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'श्री ५ अम्बरे'को डबिङ गर्दा केकी आफ्नो चरित्रमा चिच्याएकी हुन् ।
 
 
राती १० बजेसम्म चलेको डबिङमा केकीले आफ्नो भूमिकामा स्वर भरिन् । १२ घण्टा लगाएर फिल्मकी मुख्य पात्र केकीले डबिङ सकेर छोडिन् । 'केकी सँच्चिकै राम्रो कलाकार हुन् । फिल्मको मुख्य पात्रले १२ घण्टामा डबिङ सक्नु चानेचुने कुरा हैन,' स्टुडियोमा केकीलाई निर्देशन दिईरहेकी फिल्मकी निर्देशक दीपा बस्नेतले भनिन्, 'केकी आफ्नो भूमिकामा मज्जाले डुबेर काम गर्न सक्छिन् । त्यसैले पनि उनलाई डबिङ गर्न सजिलो भएको हो ।'
 
'पात्रमा डुबेपछि मलाई डबिङमा खासै गार्‍हो पर्दैन,' स्वराङ्कन कार्यलाई बिश्राम दिएर गफिन आएकी केकीले भनिन्, 'रातभर गोल भनेर चिच्याउँदा पनि डबिङ गर्न रमाईलो लागेको छ ।' फिल्ममा आफूले निर्वाह गरेको भूमिका निकै राम्रो रहेको उनको भनाई छ । उनले यो फिल्मबाट निकै आश गरेको बताईन् । महिला निर्देशकसँग काम गर्दा फरक अनुभव बटुलेकी केकीले 'श्री ५ अम्बरे' दर्शकको रोजाईको फिल्म भन्न रूचाईन् ।
 
 
जीवनसाथी फिल्म्सको व्यानरमा निर्माण भएको सोसल ड्रामा 'श्री ५ अम्बरे'मा केकीसँगै सौगात मल्ल, प्रियंका कार्कीको मुख्य भूमिका छ । भाद्र महिनामा पूर्वी नेपालमा च्यारिटी गर्ने तयारीका साथ फिल्मको कामलाई तिब्र रूपमा अगाडी बढाईएको निर्माता जीवनसाथी बस्नेतले बताए । फिल्मको सार्वजनिक प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।