ब्राजिलमा जारी विश्वकप फुटबलको रौनक चरम विन्दुमा पुगेको छ । आयोजक राष्ट्र ब्राजिल र जर्मनी बिच बुधबार हुने प्रतियोगीतालाई फुटबल प्रेमीले निकै रोचकका साथ हेरेका छन् ।
जारी विश्वकप फुटबल २०१४ को यही रोचक अवसरलाई लिएर फुटबलप्रेमी कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीसँग फिल्मीखबरले कुराकानी गरेको छ ।दीपकसँग गरिएको कुराकानीको अंशलाई उनकै शैलीमा हामीले प्रस्तुत गरेका छौं ।
मैले विश्वकप फुटबल हेर्न थालेको २४ वर्ष भयो । सन् १९९० देखि विश्वकप फुटबल हेर्न थालेको हुँ । साप्ताहिक टेलिफिल्म ‘तीतो सत्य’मा पनि फुटबलको कथा देखाउनु पर्ने भएकाले विश्वकप फुटबल नछुटाइ हेर्ने गरेको छु ।
सुरुदेखि नै म अर्जेन्टिनाको समर्थक हुँ । अर्जेन्टिनासँगै इटालीको टिम पनि मलाई मन पर्छ । तर, दुर्भाग्य यो संस्करणको विश्वकप प्रतियोगीताबाट इटाली घर फर्किसकेको छ । गएको संस्करणमा अर्जेन्टिना क्वाटर्रफाइनलबाटै बाहिरिएको थियो । त्यतिबेला निकै दुःख लागेको थियो । अहिले सेमिफाइनलसम्म पुगेको छ । खुसी छु । तर, चारै वटै टिम विश्वकप ट्रफीको दाबेदार हुन् । खेल हो, जित जसको पनि हुन सक्छ ।
मलाई मन पर्ने फुटबल खेलाडी मेरो प्रिय टिम अर्जेन्टिनाकै लियाने मेसी हुन् । उनको खेल असाध्यै मन पर्छ । ब्राजिलका नेइमार र नेदरल्यान्डका रोविन पनि मलाई मर्ने खेलाडीमा पर्छन् । यदि यो वर्षको विश्वकप फुटबल अर्जेन्टिनाले जितेमा मेसीको नाम पेले र म्यारोडोनासँग जोडिएर आउँछ । अर्जेन्टिना त्यसमाथि पनि मेसीको फ्यानको लागि यो भन्दा ठूलो खुसीको कुरा के नै हुन सक्छ र ?
जारी विश्वकपको सबै महत्वपूर्ण खेल हेर्न छुटाएको छैन । सवा ९ बजे पर्ने खेलहरु प्रायः ‘तीतो सत्य’ युनिटसँग बसेर हेर्ने गरेको छु । मध्यरात र बिहानको खेल परिवारसँग बसेर हेर्छु । विश्वकप हेर्न घरमा खासै समस्या छैन । छोराछोरीलाई मामाघर अनि श्रीमतीलाई माईत पठाउनु परेको पनि छैन । फुटबलको सामान्य खेल सबैले बुझ्छन् । निद्रा नलागुञ्जेल घरका सबै सदस्यले विश्वकप फुटबल हेर्छन् ।
फुटबल प्रतियोगितामा सामान्य होडबाजी चलि नै हाल्छ । अहिलेसम्मको होडबाजीमा मैले २५ हजार रुपैयाँसम्म बाजी मारेको छु । यही संस्करणमा जर्मनी र फ्रान्सबिच भएको खेलमा जर्मनीले जित्यो, मैले २५ हजार रुपैयाँ बाजी जितें । कुनै होडबाजीमा हारेको पनि छु । अहिलेसम्म त्यस्तै १५ हजार रुपैयाँ जति हारियो होला । तर, खेल होडबाजीका लागि भन्दा भन्दा रमाइलोको लागि हेर्नु पर्छ ।
मेरो अनुरोध मोटो रकमको होडबाजी राखेर खेल नहेर्नु होला । खेलमा हार जित हुन्छ नै । हार र जित दुवैमा हामीले आफुलाई सम्हाल्न सक्नुपर्छ । जय जारी विश्वकप फुटबल ।

