शिल्पा पोखरेललाई शिर्ष भूमिकामा लिएर निर्माता छवि ओझा दोश्रो फिल्म ‘हवल्दार सुन्तली’ को छायाँकनमा छन् । फिल्म ‘लज्जा’ प्रदर्शनमा आइनसकेको र शिल्पाको अभिनयको प्रतिक्रिया प्राप्त भैनसकेकाले ‘हवल्दार सुन्तली’ निर्माता ओझाका लागि व्यवसायिक रुपमा चुनौती हुन सक्ने फिल्मकर्मीबिच चर्चा चल्ने गरेको छ ।
फिल्मले गर्ने व्यापार अनि प्रतिक्रियाको बारेमा अड्कल लगाउनु त्यती जायज नहोला । तर, ‘हवल्दार सुन्तली’ को सुटिङ भने निकै मिहेनतका साथ भैरहेको निर्माण युनिटले बताएको छ । सर्लाहीको सुटिङ तालिका सकेर फिल्म ‘हवल्दार सुन्तली’ को छायाँकन काठमाण्डौं चल्दैछ । निर्देशक ऋषि लामिछाने फिल्मको सुटिङ ‘बबाल’ नै भैरहेको बताए ।
निर्देशक लामिछानेले भने, ‘जति बबाल गर्नु छ सुटिङमै गर्ने हो । हामीले फिल्म खिच्न निकै मिहिनेत गरिरहेका छौं ।’ छविराज प्रोडक्सनमा पहिलो पटक फिल्म निर्देशन गरिरहेका निर्देशक लामिछानेले दाबी गरे, ‘लाइट जडान गर्न हामीले एक दिन लगाएका छौं । फाइटको सिनलाई धेरै नै मिहेनत गरेका छौं ।’ अझै दश दिन फिल्मको छायाँकन गर्न समय लाग्ने उनले बताए ।
आउँदो ०७२ सालको मुखमा प्रदर्शन गर्ने गरी छायाँकन भैरहेको फिल्म ‘हवल्दार सुन्तली’ मा शिल्पासँगै अभिनेताद्धय सविन श्रेष्ठ र किशोर खतिवडाको मुख्य भूमिका छ । फिल्मलाई मदन कास्यप घिमिरेले खिच्दैछन् । द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ ।

