निर्देशक अनुप बराल र अभिनेत्री दिया मास्केले असार २३ गतेको लगनमा बिहे गरेका छन् । राजधानीको एक वैङक्वटमा सम्पन्न अनुप र दियाको बिहे विधि केही भिन्न देखियो ।

हिन्दु परम्परा अनुसार सम्पन्न उक्त बिहेमा गोडा धुने, दक्षिणा थाप्ने तथा कन्यादान दिने जस्ता परम्परालाई तोडियो । यस प्रकारको बिहे विधिलाई अनुपले प्रगतिवादी बिहे भनेका छन् । बेहुला अनुपका अनुसार हिन्दु परम्परको बिहे बिधिमा सुधार हुन आवश्यक छ ।
अनुप र दियाको बिहे विधि करिब आधा घण्टामै सकिएको थियो । अनुप करिब १५ जना मात्रै जन्ती लिएर बिहे मण्डपमा पुगेका थिए । बिहे समारोहमा अनुपका साहित्यकार तथा वात्स्यन नामबाट परिचित काटुनिस्ट बुवा सहित अन्य साहित्यकारको सहभागिता रहेको बिहे समारोहमा फिल्मकर्मी तथा सञ्चारकर्मीको भने न्यून सहभागिता थियो ।

करिब ८ वर्षको प्रेम सम्बन्धलाई अनुप र दियाले बिहेमा परिणत गरेका हुन् । अनुपद्धारा निर्देशित चर्चित ‘कोर्ट मार्सल’ सहित अन्य नाटक र फिल्म ‘फिटकिरी’ मा दियाले मुख्य महिला पात्रको भूमिका निभाएकी छिन् । फिल्मीखबर परिवार अनुप र दियालाई सुखद दाम्पत्य जीवनको कामना गर्दछ ।

