हङकङमा नाटक प्रस्तुत गरेर फर्किए लगत्तै अभिनेता दयाहाङ राईले फिल्म ‘सम्बोधन’ को बाँकी सुटिङ ज्वाइन गरेका छन् । फिल्म ‘सम्बोधन’ को छायाँकनमा व्यस्त भएपछि दयाहाङ फिल्म ‘नागबेली’ को प्रचार प्रसारमा सहभागी हुन नपाउने भएका छन् ।
फिल्म‘ सम्बोधन’ को छायाँकन करिब चार दिनसम्म चल्ने भएकाले फिल्म ‘नागबेली’ को प्रचार प्रसार कार्यक्रममा आफु सहभागी हुन नपाउने दयाले बताए । उनले भने, ‘नागबेलीसँग अब सम्पर्कमा मात्रै रहन्छु । सम्बोधनको सुटिङले गर्दा प्रचारमा हिड्न पाइन् ।’
गोविन्द राई निर्देशित फिल्ममा दयाहाङले वैदेशिक रोजगारमा जान बाध्य नेपाली युवाहरुको प्रतिनिधित्व गरेका छन् । फिल्म ‘नागबेली’ को कुनै पनि प्रचार प्रसारमा दयाहाङ सहभागी भएका छैनन् । त्यसैले दयाप्रति निर्देशक गोविन्द राई असन्तुष्ट छन् । फिल्म ‘नागबेली’ आउँदो शुक्रबार असार २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
नक्सालस्थित छायाँकन भैरहेको फिल्म ‘सम्बोधन’मा दयासँगै अभिनेत्री नम्रता श्रेष्ठ पनि केही दिन व्यस्त हुनेछिन् । हेमराज विसी निर्देशित यो फिल्ममा दयाहाङ राजनीतिक कार्यकर्ता र नम्रता पत्रकारको भूमिकामा देखिएका छन् । प्रशान्त ताम्राकार र विनय भट्टको समेत अभिनय रहेको सरोज न्यौपाने निर्मित फिल्म ‘सम्बोधन’ भदौ ६ गते नेपालभर प्रदर्शन हुँदैछ ।

