सेलिव्रेटी अनि ‘ड्रेस सेन्स’ सँगै जोडिएर आउँछन् । सार्वजनिक कार्यक्रममा सेलिव्रेटीले पहिरिने पोशाकको चर्चा एवं आलोचना हुने गर्दछ । सुरेन्द्र ठाकुरको बिहेमा हेलिकप्टर चार्टर गरेर शुक्रबार सर्लाही पुगेका अभिनेता राजेश हमालले लगाएको पोशाकको यतिबेला चर्चा भन्दा पनि आलोचना सुरु भएको छ ।
.jpg)
हेलिकप्टरबाट सर्लाही जाँदै गरेका अभिनेता राजेश हमाल (तस्विर सौजन्य : प्रदीप निरौला)
बिहे जस्तो समारोहमा अभिनेता हमाल क्याजुल ड्रेस (सामान्य पहिरन) मा सहभागी भएका थिए । फिल्म क्षेत्रकै महानायकको पगरी गुथेका हमाल ठाकुरको बिहेमा सर्ट, पाइन्ट अनि सुजमा सहभागी भए । जसले गर्दा अभिनेता हमालको ‘ड्रेस सेन्स’ माथि प्रश्न उठ्यो ।
राजेशले बिहेलाई वेवस्ता गरे या सर्लाहीको गर्मीलाई मध्यनजर गरेर टि-सर्ट बाहिर खुल्ला सर्ट पहिरिए, यो उनले नै जानुन् । तर, बिहे जस्तो समारोहमा हमालको यो ड्रेस कमालले उनकै इज्जतको धज्जी उडेको छ ।

सुरेन्द्र ठाकुरको बिहेमा सरिक हुँदै राजेश हमाल (तस्विर सौजन्य : नागरिकन्यूज डट कम)
त्यस्तै गत साता राष्ट्रपति भवनमा सम्पन्न ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी भएका निर्देशक उज्जवल घिमिरेको ‘ड्रेस सेन्स’ लाई लिएर पनि आलोचना भएको छ । निर्देशक घिमिरे सर्टको ‘बटम’ खोली छाती देखाउँदै हातको बाहुला माथि सारेर राष्ट्रपतिको हातबाट पुरस्कार थाप्न स्टेजमा पुग्दा धेरैले उनलाई गतिछाडा भनी टिप्पणी गरे ।

राष्ट्रपति रामवरण यादवको हातबाट उत्कृष्ट निर्देशकको 'राष्ट्रिय चलचित्र पुरस्कार’ ग्रहण गर्दै निर्देशक उज्जवल घिमिरे ।
शितल निवासको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ कार्यक्रममा सहभागी हुन पठाईएको निमन्त्रणा कार्डमै औपचारिक पोशाक अनिवार्य लगाउन अनुरोध गरिएको थियो । उज्जवल बाहेक उपस्थित सबै औपचारिक पोषाकमा उपस्थित थिए । उज्जवल भने निमन्त्रणा कार्डमा लेखिएको कुरा देखेनन् या राष्ट्रपतिलाई नै चुनौती दिए ? उज्जवलले आत्म मूल्याङ्कन पक्कै गरे होलान् ।
पोशाक पहिरिनु मात्रै ठुलो कुरा होइन । तर समारोहको अवस्था हेरेर पहिरिएको पोशाले व्यक्तिको व्यक्तित्व झल्काउने मद्धत गर्दछ । अभिनेता हमाल र निर्देशक घिमिरेलाई हाम्रो यही अनुरोध, समारोहको अवस्था हेरेर पोशाक पहिरिनुस् । पोशाकले तपाईंको व्यक्तित्वलाई झन् आकर्षक पारिदिन्छ ।

