निर्माता राजेन्द्र थापाको निधन भएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचाररत ५४ वर्षिय राजेन्द्रको शनिबार साँझ निधन भएको हो । ठुलो आन्द्रामा अल्सर भएर क्यान्सर हुने अवस्थामा पुगेपछि निर्माता थापा विगत एक महिनादेखि मेडिकल कलेज अस्पतालमा उपचाररत थिए ।
निर्माता थापाको शनिबार नै आर्यघाटमा सदगत गरी स-परिवार गृह जिल्ला विराटनगर पुगेको छ । दिवंगत राजेन्द्रका भाई शम्भु थापा किरिया बसेका छन् । निर्माता थापाका एक श्रीमती र दुई छोरीहरु छन् । फिल्महरु ‘पुकार’ र ‘आफ्नो बिरानो’ निर्माण गरेका निर्माता थापा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर ‘घेराबन्दी’ नामक फिल्म निर्माण गर्ने क्रममा थिए । यो फिल्मको कलाकार तथा प्राविधिक फाइनल गरी गीत समेत रेकर्ड भैसकेको थियो ।
प्रोडक्सन म्यानेजर मेघराज पौडेलका अनुसार फिल्म ‘घेराबन्दी’लाई निर्माता राजेन्द्र थापाकै नाममा समर्पित हुने गरी निर्माण गरिनेछ । निर्माता राजेन्द्र थापाको दिवंगत आत्माले शान्ति पाओस् । फिल्मीखबर परिवार शोक शन्तप्त थापा परिवारप्रति धैर्य धारणको कामना गर्दछ ।

