बर्ष ०७१ को शुरूवातमा प्रदर्शन भएका 'नोभेम्बर रेन' र 'कबड्डी' फिल्म बाहेक अन्य फिल्म चलेनन् । फिल्म नचलेपनि बर्ष ०७१ मा सेलिब्रेटीका बिहे भने चलेका छन् । लाग्छ ०७१ साल फिल्म हैन बिहे चल्ने बर्ष हो ।
गत बैशाखमा अभिनेता आर्यन सिग्देलले प्रेमिका सपना भण्डारीसँग लगनगाँठो कसे । आर्यनले बिहे गरेलग्गतै अभिनेता राजेश हमालले प्रेमिका मधु भट्टराईलाई भित्र्याए । ५ दशक उमेर पार गरेका हमालले बिहे गरेपछि फिल्म क्षेत्रमा छुट्टै रौनक देखियो ।
अभिनेत्री ऋचा सिंह ठकुरीले पनि यहि बर्ष बिहे गरिन् । एनआएरएन गजेन्द्र थापासँग केहि साता अघि मात्र ऋचाले बिहे गरेकी हुन् । यस्तै अभिनेत्री मिथिला शर्माले पनि ५ दशकको उमेरमा आएर बिहे गरिन् । गत शुक्रबार मात्रै उनले पूर्व आइजिपी मोतिलाल बोहोरासँग लगनगाँठो कसिन् । यस्तै यहि बर्ष छायाँकार पुरूषोत्तम प्रधानले पनि बिहे गरे ।
बर्ष ०७१ मा बिहे गर्ने सेलिब्रेटीमा प्रदर्शनको क्रममा रहेको फिल्म 'कोहिनूर' जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का पनि पर्दैछन् । श्री र स्वेताको भोली सोमबार भव्य समारोहका विच बिहे हुँदैछ । 'कहाँ भेटिएला'ले जुराएको यो जोडीले बिहे समारोहलाई निकै आकर्शक बनाउने भएको छ ।
यस्तै अभिनेता तथा निर्देशक अनुप बराल र अभिनेत्री दीया मास्के पनि विवाह बन्धनमा बाँधिदैछन् । अनुप र दीयाले पनि भोली सोमबार नै बिहे गर्दैछन् । पारिवारिक जमघटकाविच बिहे गर्न लागेको यो जोडीले पार्टी भने असार २५ गते दिंदैछ । उक्त पार्टीमा फिल्मकर्मीको जमघट हुनेछ ।
बर्ष ०७१ सकिन अझै ९ महिना बाँकि छ । यो ९ महिनामा कति सेलिब्रेटीले बिहे गर्लान् हेर्न बाँकी छ । तर, सेलिब्रेटीको बिहेमा भन्दा पनि फिल्म चलेकोमा खुसी मनाउने वातावरण बनोस् । नव दम्पतीहरूलाई सफल जीवनको शुभकामना, चल्न लागेका फिल्मलाई व्यवसायिक सफलताको शुभकामना !

