चकलेटी अभिनेता आर्यन सिग्देल पहिलोपटक फिल्ममार्फत रिसाहा भूमिकामा आउँदैछन् । फिल्म ‘नाईके’मा उनी यस्तो भूमिकामा देखिन लागेका हुन् । यसअघि लभर ब्वाई क्यारेक्टरमा देखिँदै आएका आर्यनले यो फिल्म दर्शकहरुका लागि नौलो स्वाद हुने बताए ।

‘एकै खाले भुमिकामा देखिँदै गर्दा केहि भिन्दै भूमिका गरौँ भनेर मैले 'नाईके' फिल्म गरेको हुँ,’ शुक्रबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले भने–‘फरक भुमिकामा दर्शकले ईन्जोय गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’ आर्यनले फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गरे । उनले भने–‘यो पुरै मनोरञ्जनात्मक फिल्म हो । यसमा थुप्रै मसलाहरु छन् जुन कुराले दर्शक दुई घण्टासम्म अन्त सोच्नै पाउँदैनन् ।’
‘नाईके’ निर्माण यूनिटले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरि फिल्मको रिलिज डेट घोषणा गर्नुका साथै प्रोमो र एउटा गीत समेत रिलिज गरेको छ । ताराप्रकाश लिम्बुले संगीत दिएको गीतलाई धर्मेन्द्र सेवानले गाएका छन् । निर्माण यूनिटले भदौ १३ रिलिज डेट घोषणा गर्दै प्रोमोशनलाई समेत अगाडि बढाएको छ । ग्याङस्टारको कथा बोक्ने फिल्म 'नाईके'को प्रोमो उपस्थित सम्पूर्ण मिडियाकर्मीहरुले राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

पत्रकार सम्मेलनमा फिल्मका लेखक तथा निर्देशक नेत्र गुरुङले आर्यनलाई फरक भूमिकामा प्रस्तुत गराउनु आफ्नो चुनौती भएपनि फिल्ममा राम्रो बनेकोले व्यवसायिक रुपमा सफल हुने बताए । ‘बनिरहेका अन्य नेपाली फिल्म भन्दा मैले प्रस्तुतीमा केहि नयाँपन दिने कोशिस गरेको छु,’ उनले भने–‘दर्शकलाई फिल्मको शैली पक्कै मन पर्नेछ भन्ने मेरो विश्वास छ ।’
फिल्मका कार्यकारी निर्माता विष्णु हमालले पहिलोपटक फिल्ममा लगानी गरेपनि फिल्मको बारेमा आएको प्रतिक्रियाले आफु थप हौसिएको बताए । ‘नेपाली फिल्म उद्योगमा एउटा अर्को राम्रो फिल्म थप्ने उद्देश्यसहित हामीले फिल्म निर्माणमा हात अगाडि बढाएका हौँ,’ उनले भने–‘फिल्म राम्रो बनेको छ, दर्शकले पनि उत्तिकै साथ दिनेमा हामी विश्वस्त छौँ ।’ हमालसहित 'नाईके' निर्माणका लागि जगदिश खनाल, नारायण खनाल, आनन्द क्षेत्री र संगीता पराजुलीले सहकार्य गरेका छन् ।

फिल्ममा आर्यन सिग्देल नाईकेको भुमिकामा देखिएका छन् । यस्तै रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेन्चुरी फिल्मका मुख्य कलाकारहरु हुन् । ब्ल्याक स्याडो प्रोडक्सशनको ब्यानरमा बनेको फिल्मको निर्माण संयोजन भने राजीव श्रेष्ठले गरेका छन् । फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन् भने रोहन नेपालीले कोरियोग्राफी गरेका हुन् । सानुकुमार महर्जनको द्वन्द निर्देशन रहेको फिल्मका संगीतकारहरु ताराप्रकाश लिम्बु, योगेश काजी बिसी र रमण गायक हुन् ।

