बाल अभिनेता अनुभव रेग्मीको जन्मदिनको अवसर पारेर फिल्म ‘नाईं नभन्नू ल ३’को संगीतको कार्य सुरु गरिएको छ । अनामनगरस्थित गुञ्जन स्टुडियोमा फिल्मका ५ गीतहरू ‘इन्सर्ट’ गरियो । बसन्त सापकोटाको संगीत रहेका गीतहरूलाई महाराज थापाले एरेञ्ज गरेका छन् । 'आज बाजाहरू हालिन्छ,' संगीतकार सापकोटाले भने ।'

‘नाईं नभन्नू ल ३’ मा विकास आचार्य, बसन्त सापकोटा, एकनारायण भण्डारी, स्वप्नील बराल र कृष्णहरी बराले गीतको शब्द कोरेका छन् । स्वर राजेश पायल राई, रजिना रिमाल र प्रेम परियारकै रहनेछ । ‘नाईं नभन्नू ल २’ कै सांगीतिक टिम दोहोरिएकाले ‘नाईं नभन्नू ल ३’ को गीतहरु पनि दर्शक तथा श्रोताले रुचाउने विश्वास गरिएको छ ।
‘नाईं नभन्नू ल’को शिर्ष गीत, ‘यी आँखामा तिमी छौ’ र ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलका गीत सार्वधिक रुचाइएको गीत हुन् । गीत हिट गराएर फिल्म सुपरहिट बनाउन माहिर मानिने निर्देशक तथा निर्माता विकास आचार्यले ‘नाईं नभन्नू ल ३’ निर्देशनको जिम्मा भने आफ्ना सहायक निर्देशक मुस्कान ढकाललाई दिएका छन् । मुस्कानले ‘नाईं नभन्नू ल २’ मा सहायक निर्देशन गरेका थिए ।
‘नाईं नभन्नू ल ३’मा अनुभव रेग्मीको मुख्य भूमिका रहनेछ । अनुभव र सुरज सिंह ठकुरी फाइनल कलाकार हुन् । अन्य कलाकार फाइनल गरेर भदौको अन्तिम साताबाट छायाँकन सुरु गर्ने निर्माण युनिटको योजना छ । चैतको अन्तिम साता प्रदर्शनको लक्ष्य राखिएको ‘नाईं नभन्नू ल ३’ मा विकास आचार्य र दिनेश कुमार पोखरेलको लगानी रहनेछ ।

