लगालग चार वटा फिल्ममा साइन गरेकी अभिनेत्री नन्दिता केसी केही सातादेखि फुर्सदमा छिन् । हिजोआज उनको दैनिकी बिहान हेल्थ सेन्टर धाउने र रातमा विश्वकप फुटबल हेर्ने छ । अर्जेन्टिनी टिमको समर्थनमा रहेकी नन्दिता किन फुर्सदमा रहिन् त ?
फिल्मीखबरसँगको कुराकानीमा नन्दिताले भनिन्, ‘हिरोको खुट्टा भाँचिदा फुर्सदमा भएँ ।’ फिल्म ‘कैफियत’का नव अभिनेता शंकर ठकुरीको छायाँकनको क्रममा खुट्टा भाँचिएको थियो । केही सातामा हिरोको खुट्टा ठिक भएपछि छायाँकनमा निस्कने नन्दिता बताउँछिन् ।
फिल्म ‘कैफियत’ मात्रै होइन नन्दिताले साइन गरेका अन्य तीन फिल्मको पनि छायाँकन सुरु भएको छैन । फिल्म ‘बाँबरी’ केही प्रतिशत छायाँकन गरेर कतार उड्ने भन्दै अड्किएको छ । त्यस्तै नन्दिताले साइन गरेका अन्य दुई फिल्म ‘मझेरी’ र ‘रेन्जर’ को पनि छायाँकन सुरु हुन सकेको छैन । फिल्म अड्किएपनि नन्दिताको म्युजिक भिडियोमा अभिनय गर्ने काम अड्किएको छैन ।

