नेपालमा हुने गरेको भ्रष्टचारको कथालाई उठान गरेर निर्माण गरिएको फिल्म 'सम्बोधन'को प्रोमोश्नल गीत रिलिज भएको छ । उक्त प्रोमोश्नल गीतमा 'सरकारी कुत्ता' भन्ने शब्द प्रयोग गरिएको छ । गीतले कस्लाई सम्बोधन गरेर 'सरकारी कुत्ता' भन्यो ? फिल्म हेरेपश्चात नै थाहा हुने निर्माता सरोज न्यौपानेले बताए ।
निर्माता न्यौपानेका अनुसार फिल्मको कथा अनुसार प्रोमोश्नल गीत तयार पारिएको हो । जलप व्याण्डको प्रस्तुती रहेको प्रस्तुत सार्वजनिक प्रोमोश्नल गीतमा जयन जेको शब्द तथा संगीत छ । फिल्मका मुख्य पात्रहरू दयाहाङ राई, विनय भट्ट र शुलेमान शंकर 'इकु' प्रस्तुत गीतमा भागदौड गर्दैछन् । फिल्ममा नम्रता श्रेष्ठ र प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका छ ।
बिष्णु लामाको पनि लगानी रहेको यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । फिल्मको कथा लेखन पनि निर्देशक बिसीकै हो । रेड रोज इन्टरटेन्मेन्टको व्यानरमा निर्मित थ्रीलर जनराको यो फिल्म भाद्र ६ गतेबाट प्रदर्शनमा आउँदै छ । यसअघि 'होस्टल' जस्तो सफल फिल्म दिएका हेमराजले 'सम्बोधन'लाई उत्कृष्ट बनाउने प्रयास गरेको बताएका छन् ।

