आउँदो भदौ महिनामा फिल्मको बाढी बग्ने भएको छ । भदौको चार हप्तामा कम्तीमा ८ वटा आश गरिएका फिल्म प्रदर्शन हुने पक्का छ । भदौको बाढीले कुन-कुन फिल्मको निर्मातालाई बचाउला र कसलाई बगाउला ? पर्खाइको विषय बनेको छ ।
‘सम्बोधन’, ‘ताण्डव’ र ‘ठूली’ भदौ ६ मा एकसाथ प्रदर्शन हुने फिल्म हुन् । नम्रता श्रेष्ठ भर्सेस नम्रता श्रेष्ठ र गरिमा पन्त बिच हुने हल लडाइँलाई फिल्म नगरीमा महत्वका साथ हेरिएको छ । भदौको दोश्रो साता १३ गते फिल्म ‘यो कथा हो तिम्रो मेरो’ र फिल्म ‘नाइके’ बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै भदौै २० गते दुई हिरोले निर्माण गरेको फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् । निरज बरालको ‘स्टुपिड मन’ र सुवास थापाको ‘बिर्खेलाई चिन्छस्’ एकै मितिमा प्रदर्शन हुने फिल्महरु हुन् ।
भदौ २७ मा भने एउटा मात्रै फिल्मको मिति तोकिएको छ । यो मितिमा विर गोर्खालीले कारगिल युद्धमा दिएको योगदानको ‘निशानी’ फिल्म प्रदर्शन हुनेछ । फिल्म जुध्नु नयाँ बहसको विषय होइन । तर, जुधेका फिल्मले गर्ने व्यापार भने चासो बन्न आउँछ ।

