फिल्म निर्देशनमा राम्रै तारिफ पाउने गरेका निर्देशक सुदर्शन थापा हिरो भएका छन् । सुदर्शन हिरो भएको फिल्म ‘अझै पनि’ यतिबेला छायाँकन सकेर पोष्ट प्रोडक्सनमा छ । सुदर्शन हिरो भएको ‘अझै पनि’लाई आलोक नेम्वाङले निर्देशन गरेका हुन् ।
फिल्म ‘मेरो एउटा साथी’ निर्देशन गरेर चर्चा कमाएका सुदर्शन थापा हिरो भएपछि झनै मख्ख छन् । औधी खुसी हुनुको कारणबारे हिरो थापाले सुनाए, ‘मलाई मन पर्ने निर्देशकसँग काम गर्न पाएको छु । छायाँकन रमाइलोसँग सकिएको छ । हामी सबैले मिहेनत गरेका छौं ।’
निर्देशक आलोक नेम्वाङको काम गर्ने शैलीबाट आफु निकै प्रभावित भएको सुदर्शन सुनाउछन् । भन्छन्, ‘उहाँकै कारणले गर्दा म हिरो भएँ । उहाँले नै मलाई तिमी अभिनय गर्न सक्छौ भनेर हरेक समय हौसला दिनु भयो ।’
उसो त सुदर्शनले ‘अझै पनि’ अगाडी नै ‘लम्फू’ नामक फिल्ममा शिर्ष भूमिका निभाएका छन् । यो फिल्मको अझै ८० प्रतिशत छायाँकन बाँकी छ । ‘दलन’ नामक टेलिश्रृङ्खलाबाट सुदर्शनले दर्शकको मन जितिसकेका छन् । फिल्मबाट पाउने प्रतिक्रिया बाँकी छ ।
‘अझै पनि’मा सुदर्शनले प्रेमिकाको रूपमा चिनिएकी पूजा शर्मासँग रोमान्स गरेका छन् । साथमा अन्य नव कलाकारको अभिनय छ । ‘अझै पनि’ निर्माणमा फेसन डिजाइनर पुनम गौतमले सुदर्शनलाई साथ दिएकी छिन् । फिल्मलाई यही वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

