पहिलो फिल्म ‘अपवाद’ निर्देशन गरेका निर्देशक सुवास कोइरालको तेश्रो फिल्म ‘पुन्टे परेड’ साउन २ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । सुवासद्धारा निर्देशित दोश्रो फिल्म ‘अवरण’ केही महिना अघि प्रदर्शनमा आइसकेको छ ।
सुवासले ‘आवरण’ को शिर्ष भूमिकामा अभिनेत्री प्रियंका कार्कीलाई उभ्याएका थिए । प्लस टु पढ्ने विद्यार्थीको मनोविज्ञानमा आधारित ‘पुन्टे परेड’मा पनि सुवासले प्रियंकालाई छुटाएका छैनन् । ‘पुन्टे परेड’मा प्रियंका म्याडमको भूमिकामा प्रस्तुत भएकी छिन् ।
पहिलो फिल्म ‘अपवाद’मा अभिनेत्री निशा अधिकारीसँग काम गरेका सुवासले आखिर किन दुई वटै फिल्ममा प्रियंकालाई लिए ? कथाको माग थियो या सम्बन्धले काम गर्यो ? यी जिज्ञासामा निर्देशक कोइरालाले भने, ‘प्रियंका मेरो मिल्ने साथी हो । तर, मेरो मिल्ने साथी भएकै कारण प्रियंका दुई वटा फिल्ममा दोहोरिएकी हैनन् । ऊ राम्रो कलाकार हो । त्यसैले प्रियंकाको विकल्पमा हामीले अरु खोज्ने प्रयास गरेनौं ।’
पहिलो फिल्ममा सँगै काम गरेकी अभिनेत्री निशा अधिकारीसँग आफ्नो सम्बन्ध नबिग्रिएको उनले बताए । ‘निशासँग मेरो सम्बन्ध राम्रो छ,’ सुवासले भने । व्यवसायिक सम्बन्धमा तपाईले प्रियंकालाई कसरी हेर्नु भएको छ ? भन्ने प्रश्नमा सुवासको उत्तर छ, ‘प्रियंका हरेक रोलमा पोख्त कलाकार हुन् । उनी पूर्व जानकारी सहित सेटमा उपस्थित हुन्छिन् । उनीसँग काम गर्न असहज छैन ।'

