फिल्म ‘अनौठो प्रेम कथा’ असार २० गते शुक्रबार प्रदर्शनमा आउँदैछ । यो फिल्म काठमाण्डौं र मोफसल गरी झन्डै चालिस वटा हलबाट एकसाथ प्रदर्शनमा आउने जानकारी छ ।
शिर्षक जस्तै यो फिल्ममा समावेश प्रेमको कथा अनौठो नै होला ? कथा अनौठो होला नहोला रिलिज पश्चात थाहा होला । 'अनौठो प्रेम कथा’ निर्माण प्रक्रिया भने अनौठो नै छ । फिल्मको १७ वटा विधा एउटै व्यक्तिले सम्हालेका छन् । कुनै पनि नेपाली फिल्म निर्माणमा एउटै व्यक्तिले यति धेरै विधा सम्हालेको तथ्य छैन ।
कञ्चन शाही यो नाम हो जस्ले ‘अनौठो प्रेम कथा’ को निर्देशन, सम्पादन, कथा, पटकथा, संवाद, कला निर्देशन, शब्द, भिएफएक्स, थ्रिडी एनिमेशन, कलाकार छनोट, नृत्य निर्देशन, पोष्टर डिजाइन, कलर करेक्सन, प्रोमो निर्माण, तस्बिर क्लिक एवं अभिनय पाटोलाई एक्लैले सम्हालेका छन् । एउटै व्यक्तिले यति धेरै विधा सम्हाल्न सक्छ ? कञ्चन उल्टै प्रश्न गर्छन् ‘जानेपछि किन नसक्ने ?’
१५ वर्ष व्यावसायिक विज्ञापन निर्माण गर्दा आफू यति धेरै विधामा पोख्त भएको कञ्चनको भनाई छ । कञ्चन भन्छन्, ‘पन्ध्र वर्षको अनुभव र ममा भएको ज्ञानले मलाई यी विधा सम्हाल्न सजिलो भयो ।’ पन्ध्र वर्षको अवधिमा शाहीले झन्डै एक सय बढी विज्ञापनको निर्माण गरेका छन् ।
एउटै व्यक्ति हावी भएको फिल्म ‘अनौठो प्रेम कथा’ चाहिं कस्तो होला त ? कञ्चन भन्छन्, ‘यो प्रश्नको उत्तर दर्शकले दिनेछन् ।’ दर्शकलाई फिल्मले निराश नबनाउने उनले बताए । सुशान्त सिंह, सर्मिला शाही र पुष्पराज शाहीको संयुक्त लगानी रहेको यो फिल्ममा सुरेश अधिकारीको संगीत छ । सुस्मा अधिकारी, सन्तोष ओली, निरञ्जन थापा, सपना तण्डुकारको फिल्ममा मुख्य अभिनय छ ।

