Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पुनः संचालनमा पूर्णिमा चलचित्र घर

रेम बिक, पोखरा, 2014/06/25
व्यापार घाटापश्चात बन्द भएको पोखराको पूरानो फिल्म हल ‘पूर्णिमा चलचित्र घर’ नयाँ व्यवस्थापन सहित पुनः शुरु भएको छ । करिब ८० लाख रुपैँयाको लागतमा हललाई सुधार गरेर नयाँ व्यवस्थापन टिमले संचालनमा ल्याएको हो । नयाँ व्यवस्थापनसहितको पुरानो पूर्णिमा हललाई डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले उद्घाटन गरे ।
 
फिल्म हलको उद्घाटन गर्दै शर्माले समयक्रम अनुसार हलको सुधार गर्दै नलगे देशका धेरै हलहरु बन्द हुने बताए । ‘पुरानो समयको जस्तो दर्शकहरु चापाचाप रुपमा हलमा आएर फिल्म हेर्ने सँस्कारबाट टाढा भैसकेका छन्,’ शर्माले भने–‘त्यसैले दर्शकलाई हलसम्म तान्नका लागि व्यवस्थित हलको खाँचो छ ।’ नयाँ व्यवस्थापन र सुधार गरिएको हलले पोखराका दर्शकलाई आकर्षित गर्न सक्ने उनले आशा व्यक्त गरे । 
 
पूराना फिल्मकर्मी हरि बरालले संचालन गरिरहेको हल गत फागुनबाट बन्द भएको थियो । बरालले हल छाडेसंगै राज श्रेष्ठ ‘म्याक’ र सहन गुरुङको टोलीले जिम्मा लिएर हल सुधार थालनी गरेको थियो । ‘नेपाली र हिन्दी दुबैखाले फिल्म हामीले देखाउने योजना बनाएका छौँ,’ संचालक मध्येका एक राज श्रेष्ठले भने–‘दर्शकहरुको सुविधा पनि हामीले बढाएका छौँ ।’ हलमा अहिले फुल एसी जडान गरिएको छ भने नि:शुल्क वाईफाईको व्यवस्था पनि छ । सुविधा बढेसंगै हलको टिकट दर समेत बढेको संचालकहरुले बताएका छन् । 
 
पूर्णिमा हल व्यवसायीहरु भगवानदास श्रेष्ठ र योगेन्द्रलाल प्रधानको स्वामित्वमा छ । पुर्णिमा हलमा कुनैबेला नेपाली फिल्महरुको लर्को लाग्ने गथ्र्यो । हलमा फिल्महरुले ५१ देखि १ सय दिनसम्म व्यापार गर्थे । २०३७ सालदेखि संचालन शुरु भएको हल पोखराको मुख्य हलमध्ये एक पर्छ । बिचमा बन्द भएर फेरी संचालमा आएपछि हलको व्यापारले राम्रो गति लिओस् भनेर उद्घाटन समारोहमा फिल्मकर्मी पवन प्रजापति, सँस्कृतिकर्मी नरबहादुर शेरचन, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोईराला, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख बसन्तकुमार लामा लगाएले शुभकामना दिएका थिए । 
 
यसअघि पोखरामा फिल्म चल्न छोडेपछि ३ वटा फिल्म हलहरु पुर्ण रुपमा बन्द भैसकेका छन् । दिपज्योती चलचित्र भवन, अन्नपुर्ण चलचित्र भवन र महालक्ष्मी चलचित्र भवन चलचित्र चल्न छोडेपछि बन्द भएका चलचित्र घरहरु हुन् । हाल पोखरामा श्रीकृष्ण, वाराहि, विन्दबासिनी र कल्पना गरि जम्माजम्मी ५ वटा हलहरु संचालनमा रहेका छन् । एकचोटी बन्द भएर पुनः संचालनमा आएका हलहरु भने कल्पना र पूर्णिमा मात्रै हुन् । ठुला र धेरै संख्या भएका हलहरुको यस्तो हालत भैरहँदा पोखरामा भने अन्य मल्टिप्लेक्स हलहरु पनि थपिने क्रममा छन् ।
 
Most Visited News (monthly)