संगीतकार बसन्त सापकोटाको व्यस्तताले यतिबेला चुली नाघेको छ । बसन्त यतिबेला झन्डै २ दर्जन नेपाली फिल्मको संगीत संयोजनमा व्यस्त छन् । कुनै पनि संगीतकारको पोल्टामा २ दर्जन फिल्म पर्नु चानचुने कुरो होइन ।
बसन्त यतिबेला विकास आचार्यको ‘नाईं नभन्नू ल ३’, सुनिल थापाको ‘ए मेरो हजुर’ सहित भुवन केसी र सुरज सुब्बा नाल्बोले निर्देशन गर्ने फिल्मको संगीत सृजनामा व्यस्त छन् । ‘नामै फाइनल नभएका अरु थुप्रै फिल्म लाइनमा छन्’ बसन्तले भने, ‘राम्रो गर्ने कोशिस गर्दैछु ।’
एउटा गीतको संगीत सृजना गरेबापत कम्तीमा ६० हजार रुपैयाँ लिने बसन्तले वि.सं. ०६५ सालबाट फिल्ममा संगीत दिन सुरु गरेका थिए । उनले पहिलो पटक संगीत दिएको फिलम ‘तहल्का’ हो । उनले हालसम्म झन्डै ७० वटा फिल्ममा संगीत दिएका छन् ।
बिग ब्यानरको फिल्ममा पहिलो रोजाइमा पर्ने बसन्त उत्कृष्टको अवार्ड लिने संगीतकारमा पनि अग्रपंक्तिमा आउँछन् । गत जेठ २६ गते सम्पन्न ओफा अवार्डमा पनि बसन्तले बर्ष ०७० को पपुलर संगीतकारको अवार्ड उचाले ।
‘शिलशिला’ फिल्मको ‘सागरी सरी चोखो माया’ बोलको गीतबाट चर्चा कमाएका बसन्त ‘ढल्क्यो ढल्क्यो’, ‘सिम्पल सिम्पल कान्छीको’, ‘गाला रातै’, ‘स्लोली स्लोली’, पागल म बन्न सक्छु' आउँदा चर्चाको शिखरमै पुगे । एक समय फिल्ममा शम्भूजित बाँस्कोटा, सुरेश अधिकारी र महेश खड्काको राज चल्थ्यो । अहिले फिल्मी संगीत बजारमा बसन्तको राज चलिरहेको छ ।

