फिल्म ‘एउटा साथी’ लाई दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा रहेका सञ्चारकर्मी लक्ष्मण सुवेदीले दोश्रो फिल्म ‘काल’ निर्देशन गर्ने भएका छन् । ‘काल’ को कमलादीस्थित गणेश मन्दिरमा शुभ साइत गरियो ।

‘एउटा साथी’ प्रदर्शनमा नआउँदै ‘काल’ को फिल्म निर्देशनको अवसर मिलेकोमो निर्देशक सुवेदीले खुसी व्यक्त गरे । उनले भने, ‘फिल्मलाई राम्रो बनाउने प्रयास गर्छु । सबैको साथ र सहयोगको अपेक्षा छ ।’ आउँदो भदौको दोश्रो साताबाट ‘काल’ को छायाँकन प्रारम्भ हुने जानकारी दिदै उनले कलाकार तथा प्राविधिक भने पक्का गर्न बाँकी रहेको बताए । उनले भने, ‘मनमा पक्का भैसके । प्रक्रियागत रुपमा भने कलाकार तथा प्राविधिक पक्का हुन बाँकी छ ।’
पाख्रिन फिल्मस्को प्रस्तुती रहेको ‘काल’ मा काले पोखरा र डिवी कार्कीको संयुक्त लगानी रहनेछ । ‘काल’ को सफलताको लागि विभिन्न संघ संस्थाको प्रतिनिधि एवं फिल्मकर्मीले शुभ कामना व्यक्त गरे ।

‘काल’ को शुभ मुर्हतमा ‘अञ्जुली’ नामक टेलिश्रृङखला निर्माणको पनि घोषणा गरियो । पाख्रिन फिल्मस्कै निर्माण रहने यो टेलिश्रृङखलालाई पनि निर्देशक सुवेदीले नै निर्देशन गर्नेछन् ।
आउँदो सोमबारबाट छायाँकन सुरु हुने ‘अञ्जुली’ टेलिश्रृङखलामा निर शाह, लक्ष्मी गिरी, केशव भट्टराई, आयुस्मान कार्की, सोम लामा लगायतको अभिनय रहनेछ । दशैं पछि टेलिभिजन प्रसारणमा आउने ‘अञ्जुली’ टेलिश्रृङखला पारिवारीक विषय वस्तुमा आधारित हुने निर्देशक सुवेदीले बताए ।

