ब्राजिलमा जारी विश्वकप नेपाली फिल्ममाथि भारी भएको टिप्पणी सुनिन थालेका छन् । खासगरी ‘मुखौटा’ नचले यता विश्वकपले नेपाली फिल्मलाई विश्वकपले प्रभाव पारेको हो कि भन्ने चर्चा सुनिएको हो । त्यसैले ब्राजिलमा विजयी फुटबल टिमले खुसी मनाइरहंँदा नेपाली फिल्मले भने व्यवसयिक हार बेहोरिरहेका छन् ।
इनिसियल हिटको अपेक्षा गरिएको फिल्म‘मुखौटा’ले आत्मघाती गोल गर्यो । धेरै स्टार कलाकारलाई लिएर कमजोर कथामा फिल्म बनाउनु ‘मुखौटा’का लागि आत्मघाती रह्यो । सुनिल थापा, राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई जस्ता कलाकारको भिड रहेको ‘मुखौटा’ ले लगानीको आधा पनि व्यापार गर्न सकेन् ।
दर्शक हलसम्म नजानुमा ‘मुखौटा’को नकारात्मक ‘माउथ पब्लिसिटि’ एवं जारी विश्कपलाई नै प्रमुख कारण मानिएको छ । एक करोड लगानी दाबी गरिएको ‘मुखौटा’ ले एक सातामा पचास लाख ग्रस कलेसक्न गर्न सकेन् । तर निर्माताले यसको सिक्वेल घोषणा गरेर धेरैलाई आश्चर्यचकित तुल्याएका छन् ।
असार ६ को शुक्रबार प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘मिसन फोर् ट्वान्टी’ र ‘कस्तो टेन्सन’को व्यापार पनि उल्लेख लायक छैन । शनिबार दिनभर परेको पानीले फिल्मका शो प्रभावित बने । काठमाण्डौमा फिल्म वितरण गर्दै आएका गोपाल कायस्थले भने फिल्मको व्यापार राम्रो नहुनुको दोष जारी विश्वकपलाई मात्रै दिन नहुने बताउँछन् । वितरक कायस्थ भन्छन्, ‘फिल्म नचल्नुको कारण विश्वकप हैन । फिल्म नै राम्रा छैनन् त कसरी चल्छन् ?’
काठमाण्डौमा मात्रै हैन मोफसलमा पनि फिल्मको व्यापार चौपट छ । मोफसल वितरक नरेन्द्र महर्जनका अनुसार मोफसलका हलमा यतिबेला शून्यता छाएको छ । प्रदर्शनमा साना ब्यानरका फिल्म मात्रै हुनु, जारी विश्वकप र वर्षाले गर्दा हलमा फिल्म हेर्र्र्ने दर्शक छैनन् । मोफसल वितरक महर्जन भन्छन्, ‘विश्कपसम्म फिल्मको व्यापार यस्तै हो ।'
असार २० गते रिलिज हुने 'अनौठो प्रेम कथा', असार २७ मा रिलिज हुने ‘नागबेली’ र साउन २ गते रिलिज हुने ‘पुन्टे परेड’ ले विश्वकपको बाधा तोडेर सफलताको व्यापार गर्लान् ? प्रतिक्षा गर्रौं ।

