फिल्म ‘स्टुपिड मन’ले सफलताको शुभ संकेत देखाएको छ । यो फिल्ममा समावेश सार्वजनिक गरिएकोे रोमान्टिक गीतलाई दर्शक तथा श्रोताले रुचाएको पाइएको छ ।
‘स्टुपिड मन’ मा समावेश ‘तिम्रो आँखामा’ बोलको गीतलाई युट्यूबमा हेर्नेको संख्या बढ्दो छ । गीत हेर्ने मध्ये धेरैले सकारात्मक प्रतिक्रिया पोष्ट गरेका छन् । गीत सार्वजनिक भएको छोटो समयमै सबैको रोजाइमा पर्न सफल भएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । स्वर स्वरुपराज आचार्य र अन्जु पन्तले दिएका छन् । गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।
अभिनेता जीवन लुइँटेल र नव अभिनेत्री चाँदनी शर्माको अभिनय रहेको यो गीतको भिडियोलाई थाईल्याण्डमा छायाँकन गरिएको छ । अभिनेता निरज बरालसहित विवेक शाही ‘स्टुपिड मन’ का निर्माता हुन् । सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा निरज र रिजु श्रेष्ठको पनि अभिनय छ । दिवाकर भट्टराई निर्देशित फिल्म यही भदौ २० गते अल नेपाल प्रदर्शन हुँदैछ ।
गीत रुचाइएका धेरै जसो फिल्मको व्यापार राम्रो भएको हालसम्म इतिहास छ । गीत रुचाइएको ‘स्टुपिड मन’ ले पनि गतिलो व्यापार गर्ला ?

