नेपाली फिल्म समीक्षकहरुका नजरमा २०७० सालमा रिलिज भएकामध्ये ‘वधशाला’ उत्कृष्ट फिल्म ठहरिएको छ । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)ले वर्षभरि रिलिज भएका ९७ फिल्म मध्येबाट मतदान गरी ‘वधशाला’लाई उत्कृष्ट फिल्मको कोटिमा राखेको हो ।
माओवादी द्वन्द्वकालमा एक सैनिक हिरासतभित्र कैदीहरुमाथि दिइएको यातनाको व्यथा पोख्ने ‘वधशाला’को निर्देशन मनोज पण्डितले गरेका हुन् भने निर्माता मोहन डोटेल हुन् । सुकुम्बासी बस्तीको एक नवविवाहित दम्पतीले एकान्त भेटाउन नसक्दाको पिडालाई उतारिएको ‘साँघुरो’ फिल्मका जोयस पाण्डेलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिने भएको छ ।
जुरी संयोजक अनुप सुवेदीको नेतृत्वमा शनिबार भएको मतदानले विनोद पौडेलद्वारा लिखित ‘साँघुरो’कै पटकथालाई उत्कृष्ट ठहराएको छ । उत्कृष्ट अभिनेता ‘मोक्ष’का कोशिस क्षेत्री र उत्कृष्ट अभिनेत्री ‘उमा’की ऋचा शर्मा घोषित भएका छन् ।
छायांकन विधाको अवार्ड फिल्म ‘वधशाला’का शैलेन्द्रध्वज कार्कीले जितेका छन् भने ‘कर्कश’बाट लोकेश बज्राचार्यले सम्पादन विधाको अवार्ड दिईने भएको छ । फिक्सनका महासचिव दीपेन्द्र लामाका अनुसार केही दिनपछि औपचारिक कार्यक्रम आयोजना गरी विजेताहरुलाई 'नेपाल फिल्म क्रिटिक्स अवार्ड' वितरण गरिनेछ ।

