ब्राजिलमा आयोजना हुने विश्वकप फुटबलको गर्मीले नेपाली फुटबल प्रेमीलाई गज्जवले छोएको छ । विश्वकप खेल्ने देशको टि-सर्ट लगाएर फुटबल प्रेमीले आफ्नो टिमप्रति समर्थन जनाइरहेका छन् ।
सामाजिक सञ्जाल ‘फेसबुक’ वाल विश्वकप समर्थन खेल्ने राष्ट्र तथा खेलाडीको नामले रंगिएका छन् । सुटिङ, जमघट र डविङमा व्यस्त हुने हाम्रा नेपाली फिल्मकर्मीलाई पनि यो विश्वकपको ज्वरोले छोएको छ । को कसको समर्थक हुन् ? फिल्मीखबरले बुझ्ने प्रयास गरेको छ ।
अभिनेता सुमन सिंह अर्जेन्टिनी मेसीका फ्यान हुन् । त्यसैले यो पटकको विश्वकपको ट्रफी अर्जेन्टिनाले उचालोस् भन्ने उनको कामना छ । तर अभिनेता धिरेन शाक्य भने आयोजक राष्ट्र ब्राजिलले नै यो पटक विश्वकपको ट्रफी उचाल्ने ठोकुवा गर्छन् । अभिनेता सविन श्रेष्ठ ब्राजिलले नै विश्वकप जित्नु पर्ने बताउँछन् । ‘हँसिया’ का भिलेन अनुप विक्रम शाही पनि ब्राजिका फ्यान हुन् । मिस नेपाल ‘ऋतु’ अभिनेत्री मलिना जोशी पनि ब्राजिलकै फ्यान हुन् ।
संयम पुरीलाई भने विश्वकपको हरेक खेल हेर्न पाउने नपाउने चिन्ता छ । किनकी उनी अहिले फिल्मको सुटिङ चल्दैछ । स्पेनलाई समर्थन गर्ने संयम ब्राजिलका नेइमारका फ्यान हुन् । निर्देशक हेमराज विसी पनि अर्जेन्टिनाका फ्यान हुन् । उनी महत्वपुर्ण खेलहरु प्रोजेक्टर लगाएर हेर्ने पक्षमा छन् ।
अभिनेत्री केकी अधिकारीले त आफुले समर्थन जनाएको देश अर्जेन्टिनाको जर्सी लगाएर फोटो सुट नै गरेकी छिन् । निर्देशक हिमग्याप टासी पनि अर्जेन्टिनाको समर्थक हुन् । ‘हाम्रो टिम’ नामक टेलिफिल्ममा फुटबल कोच बनेकी अभिनेत्री ऋचा शर्मा जर्मनकीको सर्पोटर हुन् । अर्जेन्टिनालाई समर्थन गर्ने अभिनेत्री गरिमा पन्त भने व्यस्तताले गर्दा विश्वकप छुट्ने चिन्तामा छिन् । अभिनेत्री करिश्मा मानन्धर भने शुरुवाती खेल हेरेर समर्थन गर्ने मुडमा छिन् ।

