सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा सिने मासिक कामनाले यस वर्षबाट आयोजना गर्न लागेको कामना फिल्म अवार्ड्सका लागि आवेदन खुला गरिएको छ । आयोजक कामना मासिकले अवार्डमा सहभागी हुनका लागि २०७० साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शित नेपाली फिल्मलाई आवेदन गर्न आब्हान गरेको हो ।
कामना फिल्म अवार्डस् २०७१ मा सहभागी हुन इच्छुक नेपाली भाषामा बनेका कथानक फिल्मका निर्माताहरूले कामना न्यूज पब्लिकेसन्स्को कार्यालयमा सम्पर्क राखि चलचित्र विकास बोर्डबाट प्राप्त चलचित्र निर्माण इजाजतपत्रको छायाँछवि सहित आवेदन दिनसक्ने प्रावधान राखिएको छ । केवल च्यारिटी शोमात्र भएका फिल्मले कामना फिल्म अवार्डस् २०७१ मा सहभागी हुन नसक्ने आयोजकले जनाएका छन् । आवेदन आगामी असार १ देखि १५ गतेसम्म भरिसक्नुपर्ने आयोजक कामना न्यूज पब्लिकेसन्स्ले जनाएको छ ।
कलाकर्मीकै निष्पक्ष मूल्यांकन र सम्मानका लागि अवार्डको थालनी गर्न लागेको कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको भनाइ छ । त्यसै गरी सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्ड्ससँग जोडिनु आफ्नो कम्पनीका लागि गौरवसँगै सुखद पक्ष रहेको बताउए ।
कामना फिल्म अवार्ड्सलाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ । कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा एकजना कलासाधकलाई १ लाख रुपियाँ नगदसहित लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ । कामनाका सम्पादक विदुर गिरीका अनुसार अवार्डको आन्तरिक तयारी जारी छ भने छिट्टै नै अवार्डको तिथि घोषणा गरिनेछ ।

