जेठ २६ गतेबाट अभिनेता राजेश हमाल ५० वर्षमा प्रवेश गरेका छन् । राजेशले आफ्नो ५० औं जन्मदिन अष्ट्रेलियाको सिड्नीमा सेलिब्रेट गरे । आयोजक संस्था नेपाली टच इभेन्टले अभिनेता हमालकै जन्मदिनलाई लक्षित गरेर अष्ट्रेलियामा ‘गोल्डेन जुब्ली अफ् राजेश हमाल’ को आयोजना गरेको हो ।

जुन ८ आईतवारका दिन सम्पन्न सो कार्यक्रममा सहभागी हुन नेपालबाट आएका अभिनेता हमालले यो भ्रमणलाई आफ्नो जीवनको महत्वपूर्ण क्षण भएको बताए । जेठ २६ बाट पचास वर्षमा टेकेका हमाल नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको २५ वर्ष पूरा भईसकेको छ । ‘युगदेखि युग’ सम्म फिल्मबाट अभिनय यात्रा प्रारम्भ गरेका हमालको अभिनित पछिल्लो फिल्म ‘मुखौटा’ यही साता प्रदर्शनमा आउँदैछ ।
.jpg)
२ सय बढी नेपाली फिल्ममा अभिनय गरेका हमालले कार्यक्रममा नृत्यहरु प्रस्तुत गर्नुका साथै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल धर्ती माता, सगरमाथा र बुद्ध नेपालीहरुका शान हुन् भन्ने भावको कविता सुनाएका थिए । कार्यक्रमको बिशेष समयमा हमालले केक काटेर आफ्नो पचासौं जन्म दिन मनाए । हमालसँगै आएका गायक राजेश पायल राई र गायिका अन्जु पन्तले गीत गाएर माहोललाई तताएका थिए ।

कार्यक्रममा एन्जल मुभिजका तर्फवाट 'नाईं नभन्नु ल २' फिल्मका निर्माता दिनेश पोखरेलले हमाललाई फिल्म क्षेत्रमा प्रवेश गरेको २५ बर्ष पुगेको उपलक्ष्यमा सम्मान स्वरूप रु. २५,००१ नगद र प्रशंसा पत्र प्रदान गरे । फिल्म ‘नाई नभन्नु ल २’ को गीत ‘फेरी फरी फेरी नाईं नभन्नु ल’ गाउँदा दर्शकहरुले वान्स मोर भनेपछि गायक राईले पुन: सो गीत गाउनु परेको थियो । यसै महिना प्रेमिका मधु भट्टराईलाई भित्र्याएका हमाललाई फिल्मीखबरको तर्फ ढिलै भएपनि जन्मदिनको शुभकामना !

