Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

स्वर्गिय शिव रेग्मीलाई किन लाइफटाइम अचिभमेन्ट अवार्ड ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/07

नेपाली फिल्म इतिहासमा स्वर्ण अक्षरले लेखिने नाम हो, शिव रेग्मी । दर्जन बढी सफल फिल्मका निर्देशक स्व। निर्देशक रेग्मीले दर्जनौं कलाकार तथा प्राविधिकलाई फिल्म क्षेत्रमा स्थापित गराएका छन् ।

आफ्नो काल खण्डमा सर्वाधिक सफल फिल्म निर्देशन गरेका स्व. निर्देशक रेग्मीलाई फिल्मीखबर डट कमले आयोजना गर्ने ‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) ०७१’मा मृत्युपरन्त लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मान गरिंदै छ । जेठ २६ गते कमलादिस्थित प्रज्ञा भवन हलमा साढे तीन बजे प्रारम्भ हुने ओफा अवार्डमा स्व. रेग्मीलाई उक्त सम्मान दिइनेछ ।

ओफाको पहिलो संस्करणमा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘हाँस्य सम्राट’ को उपाधीबाट सम्मान गरिएको थियो । नेपाली फिल्म इतिहासमा कुनै पनि सर्जकलाई मृत्युपरन्त ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्न लागिएको यो नै पहिलो पटक हो ।

नेपाली फिल्ममा सामाजिक तथा पारिवारिक कथावस्तुलाई महत्व दिने स्व. निर्देशक रेग्मी नारी प्रधान फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा समेत परिचित छन् । डेव्यु निर्देशकिय फिल्म ‘आफन्त’ देखि प्रदर्शनमा आएको अन्तिम फिल्म ‘मनले मनलाई छुन्छ’ सम्म उनले यी तीनै विषयवस्तुलाई निरञ्तरता दिए ।

सामाजिक विषयमा फिल्म निर्माण गरेर निर्मातालाई व्यवसायिक सफलता दिने स्व. निर्देशक रेग्मी व्यक्तिगत रुपमा पनि सबैका प्रिय थिए । स्व. निर्देशक रेग्मीद्धारा निर्देशित ८ वटा जति फिल्ममा अभिनय गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठ निर्देशक रेग्मीबारे भन्छन्, ‘मेरो फिल्म करिअरको सफलताको धेरै क्रेडिट शिव सरलाई दिन्छु । उहाँले नै मेरो फिल्म करिअरको मोडलाई परिवर्तन गरिदिनु भयो ।’

सुरुका फिल्ममा लभर क्वायको भूमिका निभाउँदै आएका श्रीकृष्णले स्व।निर्देशक रेग्मीकै फिल्मबाट आफ्नो भूमिकालाई विविधता दिएका थिए । शिवद्धारा निर्देशित ‘आफन्त’, ‘ए मेरो हजुर’, ‘सुख दुःख’, ‘आफ्नो मान्छे’, ‘हामी तीन भाई’, ‘कहाँ भेटिएला’ जस्ता सफल फिल्ममा श्रीकृष्णले अभिनय गरेका छन् । नेपाली रजतपटमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापालाई स्थापित गराउने जस स्व. निर्देशक रेग्मीलाई जान्छ ।

नेपाली फिल्म क्षेत्रका सर्वाधिक सफल निर्देशक रेग्मी वि.सं २०२१ सालमा चितवनमा जन्मिएका हुन् । दुवै मृगौला फेल भएपछि वि.सं ०७० मंसिर २४ गते उनको निधन भएको थियो । ओफाले भने निर्देशक रेग्मीको निधन नहुँदै उनलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड'ले सम्मान गर्ने निर्णय गरेको हो । स्व. रेग्मीलाई 'लाईफ टाइम अचिभमेन्ट अवार्ड'ले सम्मान गर्न पाउँदा फिल्मीखबर गौरवान्वित भएको छ ।

Most Visited News (monthly)