प्रचारप्रसारको क्रममा नेपाली फिल्म ‘मुखौटा’को टोली पोखरा आईपुगेको छ । पोखरा आईपुगेको टोलीले पोखराको विभिन्न कलेजका विद्यार्थीहरुसँग भेटघाट गरी जेठ ३० गते देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको प्रचार गर्यो ।
फिल्मका मुख्य कलाकार सुनिल थापा, निशा अधिकारी र निर्माता रविन श्रेष्ठसहितको टोलीले चार वटा कलेजमा पुगेर त्यहाँका विद्यार्थीहरुलाई फिल्म हेर्न आग्रह गर्यो । टोलीले विद्यार्थीहरुलाई टि-सर्ट तथा फुटबल समेत वितरण गर्यो । सुनिल थापा (राते काँईला) र नायिका निशा अधिकारी नै कलेज कलेज पुगेर फिल्म हेर्न आग्रह गरेपछि विद्यार्थीहरुले पनि फिल्मप्रति चासो देखाएका थिए ।
कलेज प्रचार सकिएपछि टोलीले पोखराका संचारकर्मीहरुसँग पनि भेटघाट गर्यो । संचारकर्मी भेटघाटको क्रममा फिल्मका मुख्य कलाकार सुनिल थापाले फिल्म निकै राम्रो बनेको बताए । ‘फिल्म हेरेर दर्शकले मनोरञ्जन प्राप्त गर्ने कुरामा कुनै दुईमत छैन', थापाले भने ।
सबै खर्च जोडेर प्रदर्शनमा आईसक्दासम्म फिल्मको लागत एक करोड रुपैँया कट्ने निर्माता रविन श्रेष्ठले जानकारी दिए । ‘निर्माणको क्रममा कुनै पनि कुरामा सम्झौता गरिएको छैन, नेपाली फिल्मको स्तरोन्नती र विदेशी बजार खोज्ने अभियानको क्रममा हामीले यो फिल्म निर्माण गरेका हौँ,’ निर्माता श्रेष्ठले भने ।
नेपाली फिल्ममा चलेका कलाकारहरुलाई एउटै फिल्ममा अटाएकै कारण पनि ‘मुखौटा’ चर्चामा रहेको छ । काठमाण्डौको ठमेलमा विकसित डन सँस्कृतीको कथालाई मुख्य कथा बनाईएको यो फिल्ममा राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, प्रशान्त ताम्राकार, रविन तामाङ, निशा अधिकारी र हर्षिका श्रेष्ठको मुख्य भुमिका रहेको छ । ‘मुखौटा’ कलाकार अर्पण थापाको पहिलो डेब्यू निर्देशन रहेको फिल्म हो ।

