Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा ४८ फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/06/02

‘आठौं नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०७१’ जेठ २९ बाट जेठ ३१ सम्म काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले यो महोत्सव आयोजना गर्दै आएको छ ।

 

यस पटक महोत्सवमा आदिवासी जनजाती सम्बन्धी विश्वका सबै विषयबस्तुको फिल्म, छोटा फिल्म, बृत्तचित्र, एनिमेसन फिल्म एवं म्युजिक भिडियोलाई खुला गरिएको थियो । जस अन्तर्गत यस पटक अन्तराष्ट्रिय मुलुकबाट २७ देशका १०३ ओटा फिल्महरु प्राप्त भएको आयोजकले जनाएको छ ।

अन्तराष्ट्रिय मुलुकबाट प्राप्त फिल्म मध्येबाट १८ देशका ३६ ओटा छोटा लामा फिल्म यस पटकको महोत्सवका लागि चयन गरिएको छ । महोत्सवमा ल्याटिन अमेरिकाको मात्र ७ देशका १५ ओटा फिल्म प्रदर्शन गरिँदैछ ।

‘आठौं नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०७१’ का लागि नेपालबाट १३ जाति जनजातिका २७ ओटा छोटा लामा फिल्म, बृत्तचित्र एवं म्युजिक भिडियो प्राप्त भएका थिए । जसमध्यबाट तामाङ, लिम्बु, मगर, थारु, राई, गुरुङ र थकाली गरी सात जनजातिका १२ ओटा छोटा लामा फिल्म, बृत्तचित्र एवं म्युजिक भिडियो चयन भएका छन् ।
 
यस्तै दुई जना बिदेशी फिल्मकर्मीले बनाएका नेपालका आदिबासी समुदायसँग सम्बन्धित दुई ओटा बृत्तचित्र पनि यो महोत्सवका लागि चयन भएको छ । जसमा जर्मनका सिनेकर्मी होल्जर रिडेलले बनाएको मुस्ताङका थकाली समुदायको ‘३६० डिग्री जिइओ–रिपोर्ट स्केप फ्रोम द माउन्टेन्स्’ र न्युयोर्कका फिल्मकर्मी कार्लस गोमेजले निर्माण गरेको लिम्बु समुदायको ‘मिसेक’ रहेको छ ।

यस्तै रामबाबु गुरुङ निर्देशित हालै मात्र प्रदर्शनीमा निकै सफल मानिएको नेपाली चलचित्र ‘कबड्डी’ यो महोत्सवमा विशेष प्रदर्शनीको लागि चयन भएको छ । अशोक थापा मगर निर्देशित ‘द कोरियन ड्रिम’ पनि यो महोत्सवमा नेपालमा पहिलो पटक विशेष प्रदर्शनका लागि चयन भएको छ । महोत्सवका लागि चयन भएका फिल्महरु राष्ट्रिय सभा गृहको मुख्य हल र सानो हल गरी दुई ओटा हलमा प्रदर्शन गरिने भएको छ ।

Most Visited News (monthly)