छविराज प्रोडक्सनको नयाँ फिल्म ‘हवल्दार सुन्तली’ को छायाँकन सुरु भएको छ । शिल्पा पोखरेल शिर्ष भूमिकामा रहेको यो फिल्मको छायाँकन सोमबारदेखि हेटौंडाबाट सुरु भयो ।
.jpg)
.jpg)
अभिनेताद्धय सविन श्रेष्ठ र किशोर खतिवडाको समेत अभिनय रहने फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन् । छवि ब्यानरमा निर्देशक लामिछानेले पहिलो पटक निर्देशनको अवसर पाएका हुन् । उखरमाउलो गर्मीको बाबजुद हेटौंडामा गीतको छायाँकन गरियो । शिर्ष पात्र शिल्पालाई कविराज गहतराजले नृत्यको निर्देशन गरे ।
गीत तथा दृश्य गरी त्यहाँ करिब आधा महिनासम्म ‘हवल्दार सुन्तली’को सुटिङ चल्नेछ । छवि ब्यानरमा निर्माण भएका हालसम्मका फिल्म मध्ये ‘हवल्दार सुन्तली’ खर्चिलो हुनेछ । यो फिल्मको छायाँकन नै दुई महिना बढी लाग्ने अनुमान छ ।
आफ्नै सहकर्मीबाट बलात्कृत हवल्दार सुन्तली धामीको जीवनीमाथि ‘हवल्दार सुन्तली’ बन्ने बताइएको छ । फिल्ममा चेतन सापकोटा, दिपक शर्मा र टंक बुढाथोकीले संगीत दिएका छन् भने छायाँकन मदन कास्यप घिमिरेको छ । एक्सन शैलीको फिल्ममा चन्द्र पन्तले द्धन्द्ध निर्देशन गर्दैछन् ।
कार्तिक ७ गते तिहारको छेको पारेर ‘लज्जा’ फिल्मको रिलिज तयारी गरिरहेका छविले ‘हवल्दार सुन्तली’ लाई भने आउने ०७२ सालको नयाँ वर्षमा रिलिजको लक्ष्य राखेका छन् । ‘हवल्दार सुन्तली’ बन्दै गरेकी शिल्पा ‘लज्जा’ डेव्यु अभिनेत्री हुन् ।

